काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरुमाथि ज्यान मार्ने धम्की आएको बताएका छन् ।
आज सोमबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबी गरेका हुन् ।
‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन,’ उनले भने । उनीमाथि आजै पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो ।
आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरु थुनेर कुटपिट गरिएको उनले बताएका छन् । कुटपिटमा संलग्न सबै मानिसहरु नयाँ रहेको तथा कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताएका छन् ।
रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर नगरपालिका–४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाअध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको उनको दाबी छ । रेशमले धम्की दिएको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रूपमा नलिएको उनकाने भनाइ छ ।
FACEBOOK COMMENTS