यही मंसिर २२ गते शुक्रबारदेखि पुस २ गते सोमबारसम्म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘सुदूरपश्चिम महोत्सव–२०८०’ आयोजना हुँदैछ । कैलाली जिल्लाको धनगढी नगरपालिका–१ स्थित चौधरी बुक डिपोको पछाडिपट्टीको मैदानमा आयोजना हुने महोत्सव निरन्तरता मात्रै नभइ नियमित पनि हो । निश्चित मिति र स्थानमा नियमित हुनुनै यो महोत्सवको फरक ‘ब्युटि’ र विशेषता भएको बताउँछन् महोत्सवको आयोजक कमिटी कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर ।
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, व्यापार, उद्योग र सांस्कृतिक धरोहरहरूको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य बोकेको महोत्सवले अन्य विकासका सम्भावनाहरूको उजागर पनि गर्ने उनले बताए । आर्थिक एवम् सामाजिक रूपान्तरण र सांस्कृतिक संरक्षण एवम् प्रवर्द्धनको धरोहरको रूपमा रहेको प्रदेशस्तरीय मेला सुदूरपश्चिमेलीहरूका लागि विशेष पर्वको रूपमा स्थापित भइसकेको अध्यक्ष कुँवरको भनाइ छ । देशको समसामयिक विषयवस्तु र सुदूरपश्चिम महोत्सव–२०८० सँग केन्द्रित रहेर कर्पोरेट खबरका ज्योति जीसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, महोत्सवको बहुआयामिक पाटो र उपलब्धीहरूबारे कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरसँग गरिएको विस्तृत कुराकानीको सम्पादित अंश–
जिल्ला उद्योग वाणिज्य संघहरूमा नेता बन्ने मान्छेहरूको त कुनै उद्योग व्यवसाय नै हुँदैन भन्छन् । कैलालीमा तपाइँको के–के व्यवसाय छ ?
कैलाली उद्योग वाणिज्य संघमा १७ वर्षदेखि म उद्योगी व्यवसायीकै रूपमा आवद्ध रहँदै आएको छु र अहिले नेतृत्वमा पनि छु । मैले जिल्लामा रहेर खाद्यान्न व्यवसाय, होटेल व्यवसाय, ट्रेडिङ र कन्स्ट्रक्सन क्षेत्रमा काम गर्दै आएको छु ।
संघमा रहेर १७ वर्षसम्म काम गर्दा र अध्यक्ष बनेर काम गर्दा के–कस्तो फरक पाउनुभयो ?
कैलाली उद्योग वाणिज्य संघ वि.स. २०२७ सालमा स्थापना भएको संस्था हो । यसले आफ्नो पहिलो धर्मका रूपमा व्यावसायिक हकहितकै लागि काम गर्दैै आएको छ । साथै निजी क्षेत्रको अगुवा संस्था भएको नाताले पनि हामी सामाजिक उत्तरदायित्व बहन गर्नेमा पनि अगाडि छौँ । जिल्लाका राजनीतिक दल, नागरिक समाज, आम सर्वसाधारण, उद्योगी–व्यवसायीहरूसँग बसेर समन्वय गरी संघले आफ्ना कामहरू गर्दै आएको छ । विगतमा २० वर्षसम्म तत्कालीन स्थानीय निकायहरू नुहँदा पनि संघले सरकार र जनतालाई जोड्नेजस्ता काममा सहजीकरणको भूमिका निर्वाह गरेको थियो ।
यस्तै, कैलालाीको मात्र नभइ पिछडिएको क्षेत्रका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको समग्र विकासका निम्ति सरकारलाई घचघच्याउने काम हामीले गर्दै आएका छौँ । विगतमा यहाँ राम्रो बाटो थिएन, उद्योग कलकारखाना थिएन । भन्ने हो भने राज्यले नै सुदूरलाई विभेदको नजरबाट हेरिरहेको हामीले अनुभूति गर्दै आएका थियौँ । तर, अहिले हामीले भनेका सबै त भएका छैनन् तर हाम्रो समेत पहलकदमी र दबाबमा यहाँ धेरै कुराहरूको विकास हुँदै गएको छ ।
साथै, हामीले २०६३ सालदेखि नियमित रूपमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएका छौँ । त्यो महोत्सवमा स्थानीय उद्योग–व्यवसायी र उत्पादनहरूको प्रवर्द्धनका साथै समग्र विकासका एजेण्डाहरू पनि हामीले महोत्सवमार्फत उठाउँदै आएका छौँ । तपाइँलाई स्मरण गराऔँ २०६३ सालमा महोत्सव गर्दा हामीले सरकारसमक्ष २१ बुँदे माग प्रस्तुत गरेर अघि बढेका थियौँ । तर, झण्डै बीस वर्ष हुन लाग्दासम्म केही बुँदामात्रै हाम्रा माग पूरा भएका छन् । अझै केही बुँदा मागहरू पूरा हुन सकेका छैनन् । त्यसयता समयक्रमसँगै हामीले अन्य विभिन्न मागहरू सरकारसमक्ष जोडदारका साथ उठाउँदै आएका छौँ । यी विभिन्न विषयहरूमा मैले यसअघिका नेतृत्वको साथमा रहेर काम गर्दै आएको हिसाबले अहिले मलाई त्यति समस्या छैन । यद्यपि, नेतृत्वमा रहँदा र नरहँदामा जिम्मेवारीबोधको कुरा भने केही फरक हुँदो रहेछ ।
विभिन्न मागहरू अघि सारेको भन्नुभयो । खासमा यहाँका समस्याहरू के–के हुन् ?
हाम्रो यहाँको मुख्य समस्या भनेको नाका नहुनु हो । अहिलेसम्म सुदूरपश्चिममा कुनै पनि अन्तर्राष्ट्रिय नाका नै छैन । भएको गौरीफन्टा नाका पनि आरक्षका कारणले हाम्रा लागि सहज छैन । औद्योगिक क्षेत्र र राम्रो प्रदर्शनीस्थल पनि छैन । एउटा सुक्खा बन्दरगाहचाहिँ अहिले बनिरहेको छ ।
पछिल्लो समय कैलालीका समग्र उद्योग–व्यवसाय र व्यवसायीहरूको अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा कैलालीमा मात्र नभइ देशभरकै उद्योग–व्यवसाय र व्यवसायीहरू सङ्कटमा परेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाका चर्को व्याजका कारणले लगानी बढाउन सकिएको छैन । व्यवसायीहरू आफ्नो व्यवसाय सञ्चालन गर्न नसकेर पलायन हुने अवस्था छ भने बैंकको व्याज तिर्न सक्ने अवस्थामा छैनौँ । पछिल्लो दुई वर्षयता उद्योग व्यवसायहरू ध्वस्त भएका छन् भन्दा अत्युक्ति नहोला ।
विश्वव्यापी कोभिड महामारीको बेलामा समेत नधरमराएको नेपाली अर्थतन्त्र अहिले किन यस्तो अवस्थामा पुगेको होला ?
कोभिडको समयमा पुनर्उत्थानका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले राम्रो लगानी गरेका थिए । तत्कालीन अवस्थामा राष्ट्र बैंकले लिएको नीतिका कारण पनि व्यवसायीहरूलाई सहज अवस्था नै थियो । कतिपय व्यवसायीहरूले थप पैसाहरू समेत लिएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पाएका थिए । तर, त्यसपछि राष्ट्र बैंकले लिएको नीतिले नेपालको समग्र उद्योग–व्यवसाय र उद्योगी–व्यवसायीहरू नराम्ररी प्रभावित बने । ६–९ प्रतिशत व्याजमा लिएको ऋणको व्याज १५–१६ प्रतिशतसम्म पुग्यो । हरेक क्षेत्रमा राष्ट्र बैंकले एकैचोटी निर्मम खालको गाइडलाइनहरू लागू गर्दा अहिले यो अवस्था आएको हाम्रो बुझाइ छ । यो अवस्था सुधारका लागि हामी व्यवसायीहरू त अहिले पनि आन्दोलित नै छौँ र थप कडा आन्दोलनमा जाने अवस्थामा सरकारले नपुर्याओस् भन्न चाहान्छौँ ।
तपाइँ त जिल्ला अध्यक्ष मात्र नभइ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । विद्यमान अवस्था सुधारका लागि तपाइँहरूबाटचाहिँ कुनै भूमिका वा पहल हुन सक्दैन ?
नेपाल उद्योग वाणिज्य समग्र उद्योगी–व्यवसायीहरूको छाता संस्था हो । यो संस्थामार्फत वर्तमान समस्या समाधानका लागि सरकारसमक्ष विभिन्न सुझावहरू पेश गरिनाका साथै बारम्बार डेलिगेशनहरू भएका छन् । त्यसमा हामी सबैको अपनत्व छँदैछ । तर, सरकारले ती सुझावहरूलाई पूर्णत: बेवास्ता गरिरहेको छ । हामीले प्रधानमन्त्री र अर्थमन्त्रीलगायतलाई दिएको सुझावमात्रै कार्यान्वयन गर्ने हो भने पनि अहिलेको अवस्थामा धेरै सुधार आउनसक्थ्यो भन्ने हाम्रो बुझाइ छ । बैंकमा पैसा छ, लगानी गर्न सकिरहेको छैन । उद्योग प्रवर्द्धनका लागि व्यवसायीलाई पैसा चाहिएको छ तर ऋण लिन सकिरहेको अवस्था छैन । यो अत्यन्तै गम्भीर अवस्था हो भन्ने मलाई लाग्छ ।
अर्थतन्त्रमा समस्या भएको कुरा सबैले अनुभूति गरिरहेका छन् । तर, सरकारलेचाहिँ किन बेवास्ता गरेको होला ?
मेरो विचारमा सरकार र राष्ट्र बैंकबीचको तालमेलको अभावमा यस्तो भएको हुनसक्छ । उनीहरू एकले अर्कालाई स्वीकार गर्नै नसक्ने अवस्थामा पुगेको जस्तो देखिन्छ । तर, हामी व्यवसायीलाई परेको मर्काका विषयमा उनीहरू जानेर पनि नजानेजस्तो गरिरहेका छन् ।
स्वाभाविक रूपमा बैंकहरूको ठूलो कर्जा उपभोग व्यवसायीहरूले नै गरिरहेका छन् । व्याजदर बढेकै कारण ऋण तिर्दैनौँ भन्नेहरूले आन्दोलन समेत गर्न थालेका छन् । त्यसमा तपाइँहरूको पनि ऐक्यवद्धता हो र ?
हामीले कहिले कतै पनि ऋण तिर्दैनौँ भनेका छैनौँ । अवस्था सहज गरिदेउ हामी व्यवसाय चलाउँछौँ र ऋण पनि तिर्छौं भनिरहेका छौँ । यदि हामीलाई आन्दोलन नै गर्नपर्ने अवस्था आयो भने अरु कसैको सहारा लिन पर्दैन हाम्रो आफ्नै हैसियत छ । अहिले भइरहेका बजारीया आन्दोलन र प्रदर्शनहरूमा हाम्रो कुनै संलग्नता छैन र हाम्रो माग पनि त्यो होइन । हाम्रो माग भनेको कर्जा पुनर्तालिकीकरण हो, ऋण तिर्ने समय मागेका हौँ । उद्योग व्यवसाय सञ्चालन गर्न थप लगानी माग गरिरहेका छौँ । ऋण नतिर्ने कुरा हुँदै होइन ।
तपाइँहरू सुदूरपश्चिम महोत्सवको निकट तयारीमा पनि हुनुहुन्छ । यसको उद्देश्य र औचित्य के हो ?
मैले अगाडि पनि अवगत गराइसकेँ कि यो महोत्सव हामीले २०६३ सालदेखि निरन्तर र नियमित रूपमा गर्दै आएका छौँ । हामीले हरेक वर्षको मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना गर्ने गरेका छौँ । हामीले मनाउने ठूला चाडहरूको मिति तिथि अनुसार तलमाथि पर्न सक्छ, तर यो महोत्सवको मिति र आयोजनास्थल कहिल्यै फरक पर्दैन । त्यसकारण पनि देशभर हुने विभिन्न महोत्सवको तुलानमा यो भव्य हुनाका साथै महत्वपूर्ण समेत रहँदै आएको छ ।
सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन एवम् विकासका सम्भावनाहरूबारे उजागर गर्न यो मेला आयोजना गरिँदै आएको छ । यो वर्ष हामीले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्ने अन्तिम तयारीमा छौँ । हामीले यो महोत्सव आयोजना गर्नाका मुख्य उद्देश्य भनेको स्थानीय उत्पादन, कलासंस्कृति, जातजातिका भेषभूसा, रहनसहन, खानपानका विभिन्न परिकार र विभिन्न किसिमका शीपको प्रवर्द्धन गर्नु हो । यो महोत्सव सुदूरपश्चिमेलीका लागि ठूलो चाड र महामेला हो । मेलामा सुदूरका नौ वटै जिल्लाका उत्पादनसहित अन्य धेरै नवीनतम कुराहरूको अवलोकन र अनुभव गर्न पाइन्छ । करिब ८ लाख भन्दा धेरै दर्शकले अवलोकन गर्ने यो महोत्सवमा करिब ४०० वटा स्टल हुने गरेका छन् । देशभरबाट मात्र नभइ छिमेकी देश भारतबाट समेत अवलोकनकर्ताहरू आउने गर्नुभएको छ । सुदूरका मानिसहरू हरेक वर्षको मंसिर २२ गतेदेखि पुस २ गतेसम्मको पर्खाइमा बस्ने गरेका छन् ।
सुदूर पश्चिममा के–के छैनन् ? के–के चाहिन्छ ? भनेर सुदूरपश्चिमको आर्थिक एवम् सामाजिक रूपान्तरण, सांस्कृति संरक्षण एवम् प्रवर्द्धन गर्दै सर्वाङ्गीण विकासको लक्ष्यसहित २१ बुँदे माग अघि सारेर २०६३ सालदेखि आयोजना गर्न थालेका थियौँ । त्यसबेला यहाँ गेटा विमानस्थल निर्माण भएको छ । अप्टिकल फाइबर, सुगर मिल, गौरीफन्टा नाका थिएन, औद्योगिक क्षेत्र थिएन, प्रदर्शनीस्थल थिएन । साथै गड्डाचौकीदेखि कर्णालीसम्म ६ लेनको बाटोको कुरा र पश्चिम सेती परियोजना निर्माणलगायत महत्वपूर्ण माग हामीले त्यसबेला अघि सारेका थियौँ । अहिले देशभर सुदूरपश्चिम महोत्सवको चर्चा हुने गरेको छ ।
कैलाली उद्योग वाणिज्य संघ सुदूरपश्चिम महोत्सवको आयोजक कमिटी समेत हो । महोत्सवलाई थप आकर्षक बनाउन के–के तयारी गरिरहनुभएको छ ?
हामी आयोजक भए पनि यहाँ नौ वटै जिल्लाका जिल्ला र नगर संघहरूको सक्रिय सहभागिता रहने छ । सुदूरका मात्रै नभइ अन्य प्रदेशका जिल्लाहरूले पनि स्टलमा आफ्नो सहभागिता जनाएका हुन्छन् । यो हाम्रा लागि आकर्षणकै विषय हो । व्यावसायिक प्रदर्शनका साथै स्थानीय झाँकी र परिकारहरू अर्को आकर्षणको विषय हो । साथै अन्य मनोरञ्जनात्मक कार्यहरूको पनि हामी तयारी गरिरहेका छौँ । उत्पादनहरूको विशेष प्रस्तुतिहरू समेत रहने भएकाले यसलाई आकर्षणै आकर्षणको विषय मान्न सकिन्छ । साथमा सांस्कृतिक कार्यक्रमहरूको पनि हामीले व्यवस्था गरेका छौँ ।
स्टल प्रयोगकर्ता र अवलोकनकर्ताले के–कति शुल्क तिर्नुपर्छ ?
हरेक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने महोत्सवमा आम सर्वसाधारणले १०० रूपैयाँ तिरेर अवलोकन गर्न पाउनुहुनेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छूट दिएका छौँ । यस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । स्टल प्रयोगकर्ताहरूको हकमा विभिन्न १३ वटा वर्गमा विभाजन गरी १० हजार रूपैयाँदेखि ३० हजार रूपैयाँसम्म शुल्क निर्धारण गरेका छौँ । विगतमा पनि यही दरमा महोत्सव आयोजना गरेका थियौँ । केहीलाई हामीले नि:शुल्क समेत उपलब्ध गराउने गरेका छौँ ।
महोत्सवमा टिकट बिक्रीबाट प्रतिटिक पाँच रूपैयाँ संघको विपद व्यवस्थापन कोषलाई, एक रूपैयाँ लैङ्गिक हिंसाविरुद्धको अभियानलाई र दुई रूपैयाँ लागूऔषध दुर्व्यसनविरुद्धको अभियानलाई छुट्याउने निर्णय हामीले गरिसकेका छौँ ।
हेर्नुहोस् भिडिओ अन्तर्वार्ता–
FACEBOOK COMMENTS