धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसअन्तर्गत पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८ दशमलव १६ प्रतिशत विनियोजन गरिएको छ भने चालु ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२ दशमलव ७९ प्रतिशत विनियोजित छ ।
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष ०८०र०८१ का लागि सांसद कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्रका सांसदलाई तीन करोड विनियोज गरेको छ । उक्त कार्यक्रम अनुपयुक्त रहेको भन्दै विगतदेखि नै आलोचना हुने गरेको थियो ।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेशसभामा प्रस्तुत गरिरहेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा परेका छन् । सडक पूर्वाधार, उर्जा, सिँचाई तथा नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, आवास सहरी विकास तथा भवन निर्माण र यातायात व्यवस्था क्षेत्रमा १२ अर्ब ६८ करोड विनियोजन गरिएको छ ।
अत्तरिया–धनगढी मोनोरेल सम्भाव्यता अध्ययन र बाजुराको ढम्कने पाण्डुसेन सुरुङमार्ग अध्ययनका लागि बजेट विनियोजन गरिएको उल्लेख छ । स्वास्थ्य क्षेत्र ३ अर्ब १४ करोड ७२ लाख, उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि एक अर्ब ८१ करोड, कृषि क्षेत्रमा बजेट २ अर्ब ५० करोड विनियोजन गरिएको छ ।
कृषि क्षेत्रअन्तर्गत कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गरिने उल्लेख छ । कृषकहरुलाई शून्य ब्याजदरमा कर्जा ४ करोड विनियोजन गरिएको छ । यस्तै कृषि एम्बुलेन्स, रासायनिक मलको सहज उपलब्धताका लागि अनुदान, विपन्न वर्गको पोषण सुधारका लागि कार्यक्रम, खाद्यान्न भण्डार स्थापना, बाजुरा र दार्चुलामा च्यांग्रा पालन व्यवसायका लागि बजेट विनियोजनलगायतका कार्यक्रम राखिएका छन् ।
FACEBOOK COMMENTS