काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी माग्दै भारतलाई पत्राचार गरेको छ । मन्त्रालयले ५० हजार टन चिनी उपलब्ध गराइदिन भारतलाई पत्राचार गरेको हो ।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडवाडको समयमा अति आवश्यक खाद्य पदार्थको अभाव हुन नदिन आइतबार सरकारलाई निर्देशन दिएको थियो ।
समितिले बजारको मागअनुसारको परिमाणमा चिनी, चामल, गहुँलगायतका अति आवश्यक खाद्य पदार्थको आयात गर्न मूल्य अभिवृद्धि कर पुरै छुट र १ प्रतिशत भन्सार महसुलको सुविधा उपलब्ध गराउन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको थियो ।
बजार हस्तक्षेपकारी निकायको रुपमा भूमिका खेल्ने साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग उपभोक्तालाई बिक्री गर्न चिनी छैन ।
यस्तै स्वदेशी चिनी उद्योगबाट उत्पादित चिनीको मौज्दातसमेत सकिन लागेको अवस्थामा व्यापारीहरुले आफूखुसी मूल्य तोकेका छन् । जसले गर्दा बजारमा चिनीको मनपरी मूल्य कायम भएको छ । बजारमा अहिले प्रतिकिलो चिनीको मूल्य पसलपिच्छे १३० देखि १४० सम्म पुगेको छ ।
यसअघि अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १०-१० हजार टन चिनी आयात गर्न अनुमति दिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने ६० हजार टन आयात गर्न अनुमति मागेको थियो ।
FACEBOOK COMMENTS