काठमाडौँ । बुधबार दर खाएसँगै चार दिने तीज पर्व सुरु भएको छ । हिन्दुको महान् चाड हरितालिका तीजको व्रत बस्न अघिल्लो दिन दर खाने प्रचलन छ । यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकको सुझाव छ ।
तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बताइन् ।
चाडपर्व मनाउनुपर्छ, रमाइलो पनि गर्नुपर्छ तर कुनै पनि नियम वा स्वास्थ्यको मापदण्डहरूलाई बिर्सनु हुँदैन । डा. उप्रेतीको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरिन । सजावटमा राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन उनको सुझाव छ ।
यता शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले तीज भन्दैमा कोरोना नलाग्ने भन्ने हुँदैन त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जोड छ ।
नेपाल सरकारले पूर्ण रूपमा निषेधाज्ञा खोले पनि कोरोनाको नयाँ भेरियन्टको जोखिम घटेको छैन उनले भने, अहिले पनि कोरोना सङ्क्रमितहरू रहेकै छन् भने सबैले पूर्ण रूपमा खोप पनि प्राप्त गरेका छैनन् त्यसैले आफै सजक हुनुपर्छ । सकेसम्म भीडभाड भएको ठाउँमा जानुहुदैन र बिनामास्क कहीँ कतै नजानु ।’

विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिषी विशाल गौतमले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
