काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजाल (ईश्वरी) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नाम फेर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आज बुधबारको बैठकमा बोल्दै उनले आफूलाई राष्ट्रवादी भन्ने राप्रपाले परिवर्तनलाई स्वीकार गर्दै गणतन्त्रलाई आत्मसात गर्नुपर्ने बताए ।
उनले राप्रपाको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी गणतान्त्रिक’ राख्दा उपयुक्त हुने सुझाव दिए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्दा नै राप्रपाको हित हुने उनको भनाइ छ ।
सांसद रिजालको धारणा जस्ताको तस्तै–
‘उहाँहरू राष्ट्रवाद भन्नुहुन्छ । उहाँहरूले जसलाई राष्ट्रवादीको प्रतीक बनाउनुभएको छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो नक्शामा समावेश गर्दा सिङ्गो राष्ट्र एक भएर उठ्यो ।
मेरो अनुरोध छ उहाँहरूलाई, २०४६ सालमा पञ्चायती व्यवस्था बिदा भयो, बहुदल आयो । त्यो बेलामा नेताहरूलाई म धन्यवाद दिन्छु परिवर्तनलाई आत्मसात गर्नुभयो । पार्टीको नामै राष्ट्रिय प्रजातन्त्र पार्टी राख्नुभयो । त्यसैकारण राप्रपा अहिले अस्तित्वमा छ । परिवर्तनलाई स्वीकार गरेर ।
अहिले मेरो सुझाव छ राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी गणतान्त्रिक’ राख्दा हुन्छ । परिवर्तनलाई स्वीकार गर्नुपरेन ? आत्मसात गर्नुपरेन ? पञ्चायत पार्टी भनेर उहाँहरूले त्यो नाम राखेको भए के हुन्थ्यो होला अहिले ? राष्ट्रिय पञ्चायत पार्टी नभनी राष्ट्रिय प्रजातन्त्र पार्टी भन्नुभयो । यो परिवर्तनलाई स्वीकार गरिएको कुरा हो ।
त्यसैगरी, अहिले पनि स्विकार्नुपर्छ उहाँहरूले । लेख्नुपर्छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र पार्टी भन्नुपर्छ । उहाँको त्यसमा भलो छ, हित छ । किनभने नयाँप्रति मान्छेको आकर्षण हुन्छ । पुरानोप्रति विकर्षण हुन्छ ।’
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS