बेलबारी (मोरङ) । बेलबारी-११, लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो ।
विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरू गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ ।
छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर आएका प्रेम श्रेष्ठले करिब १० वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यवसाय गर्दै आएका छन् । सुकुटीको माग दैनिक बढेसँगै पेसाप्रति सन्तुष्ट रहेको उनले बताए ।
रोजगारीको सिलसिलामा आठ वर्ष मलेसिया बसेर आएका दिलीप श्रेष्ठले पाँच वर्षअघि यो व्यवसाय सुरू गर्दा सातामा करिब २० देखि ३० किलो मात्र सुकुटी बिक्री हुने गरेकामा छ सयदेखि सात सय किलोे सुकुटी बनाउने गरेका छन् । उनका अनुसार स्वदेशी बजारमा भन्दा बेलायत र अमेरिकामा बस्ने नेपालीले यहाँको सुकुटु माग गर्छन् । जनशक्ति अभावमा माग पूरा गर्न सकिएको छैन ।
विदेशमा रहेका नेपालीहरूमा कोसेलीको रूपमा सुकुटीको माग उच्च रहे तापनि बनाउन धेरै झन्झट र मेहनत पर्ने भएकाले मागअनुसार पुर्याउन नसकिरहेको श्रेष्ठ बताउँछन् । प्रतिकिलो दुई हजार रूपैयाँमा बिक्री भइरहेको सुकुटी व्यापारले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । मासिक दुई लाख रूपैयाँसम्म आम्दानी भइरहेको उनी बताउँछन् ।
वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष कतारमा काम गरेर आएका शोभितमान श्रेष्ठ नौ वर्षदेखि लक्ष्मीमार्गमा सुकुटी व्यापार गर्दै आएका छन् । साताको १० किलो मासु ल्याएर सुकुटी बनाउने गरेकामा हाल दैनिक २० देखि २५ किलो सुकुटी बनाउने गरेको उनी बताउँछन् । लक्ष्मीमार्गमा दैनिक राँगाको सुकुटीको माग बढ्दो क्रममा रहेको र आफूलाई भ्याइनभ्याइ भएको उनले बताए । विदेशको भन्दा परिवारसँगै घरमा बसेर गरेको व्यवसायले सन्तुष्टि मिलेको उनले बताए ।
पूर्व-पश्चिम राजमार्ग भएर यात्रा गर्ने धेरै टाढाटाढाबाट यहाँको सुकुटीको स्वाद चाख्न ग्राहकहरू आउने गरेको होटल सञ्चालक टफिनबाबु श्रेष्ठ बताउँछन् । लक्ष्मीमार्गको नयाँ परिचय यहाँकोे सुकुटी बनेको उनले बताए ।
FACEBOOK COMMENTS