काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक ‘ISO/IEC 27001:2022’ को प्रमाणीकरण नवीकरण गरेको छ ।
यस नवीकरणले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) सम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय मानक हो । यस मानकले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान तथा मूल्याङ्कन गर्न, आवश्यक सुरक्षा उपाय लागू गर्न र ती उपायहरूको प्रभावकारिता नियमित समीक्षा तथा सुधार गर्न व्यवस्थित आधार प्रदान गर्दछ । यसको मुख्य उद्देश्य सूचनाको गोपनीयता, अखण्डता र उपलब्धतालाई सुनिश्चित गर्नु हो ।
डिजिटल सेवाको विस्तारसँगै जीवन बीमा सेवामा ग्राहकको व्यक्तिगत, वित्तीय, स्वास्थ्य तथा दाबीसम्बन्धी विवरणको सुरक्षित व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यस सन्दर्भमा प्रमाणीकरणको नवीकरणले कम्पनीको डिजिटल प्रणाली र सूचना सुरक्षाप्रति ग्राहकको विश्वासलाई अझ मजबुत बनाउनेछ ।
सन नेपाल लाइफले सूचना सुरक्षालाई आफ्नो संस्थागत जिम्मेवारीको अभिन्न अङ्ग मान्दै आगामी दिनमा पनि जोखिम व्यवस्थापन, कर्मचारी सचेतना तथा प्रणाली र प्रक्रियाको निरन्तर सुधारमार्फत सुरक्षित र ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
