काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।
हिजो शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार अर्जुन रसाइलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्ष अर्का पदका उम्मेदवार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरे ।
महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरे र
यस्तै, प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी केशबहादुर सुनारले १५९ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा बुद्धिबहादुर विके दियालीले २६४ मत प्राप्त गरी विजयी बने भने उनका प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले १६६ मत ल्याए ।
यसैगरी, तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवमा किरणभाइ बज्राचार्य २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मत पाए । यसैगरी, कोषाध्यक्षमा सुदीप श्रेष्ठ २४३ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी सुविन बज्राचार्यले १८४ मत प्राप्त गरे ।
दुई जना सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेदवार दियालीले २६१ मत पाउनुभएको थियो । त्यस्तै, सह–कोषाध्यक्षमा पद्मसुन्दर शाक्य २६३ मतसहित निर्वाचित भएका छन् ।
२०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाइली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए । नवनिर्वाचित अध्यक्ष रसाइली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्यसमेत रहेका थिए ।
२०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाइलीलाई मिलेको छ ।
नयाँ कार्यसमिति चयनका लागि असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजेसम्म भएको निर्वाचन भएको थियो । मतदानमा ४३५ जना प्रतिनिधिहरू मतदान प्रक्रियामा सहभागी भएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरू रहेका थिए ।
FACEBOOK COMMENTS