काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउन दलहरुलाई आग्रह गरेको छ । निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो । आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्न अनुरोध गरेको छ ।
साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने समेत उल्लेख गरेको छ ।
मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम
फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउँछन्।यसअनुसार योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको निर्वाचन आयोगले जनाएको छ।
जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन्। निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ।

प्रदेशअनुसार कोशीमा ३५ लाख ७४ हजार ३१०, मधेसमा ३६ लाख ३६ हजार ४१४, बागमतीमा ३६ लाख ८२ हजार ३१०, गण्डकीमा १८ लाख ७० हजार ६५, लुम्बिनीमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।

यसपालि राष्ट्रिय परिचय पत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो। निर्वाचनका लागि आयोगले मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि समय दिएको थियो। त्यसपछि नामावलीमा भएको त्रुटी सच्याएपछि आयोगले मतदाता संख्या सार्वजनिक गरेको हो।


FACEBOOK COMMENTS