काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै राम्रो अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले आज शनिबार आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रले विभिन्न खालका चुनौतीको सामना गर्नु परेको भए पनि बैंकिङ क्षेत्रको अवस्था भने निकै राम्रो रहेको बताएका हुन् ।
‘बैंकिङ क्षेत्रका सबै सूचक सहज रुपमा रहेका छौँ । तरलताका हिसाबले सहज अवस्था छ । पुँजीका हिसाबले पनि सक्षम अवस्थामा रहेका छौं,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उनले भने, ‘विभिन्न सूचकहरुलाई हेर्ने हो भने अहिले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै राम्रो छ । मौद्रिक सूचक सकारात्मक छन् । विदेशी मुद्रा सञ्चिति पर्याप्त छ । भुक्तानी सन्तुलन कायम भएको छ । राजस्व बढ्दो क्रममा छ ।’ बैंकिङ क्षेत्रमा करिब रू. ६१ खर्ब बराबरको निक्षेप सङ्कलन र रू. ५१ अर्ब बराबरको कर्जा प्रवाह भएको उनले बताए ।
मुलुकको आर्थिक विकासका लागि सहयोग गर्नसक्ने महत्वपूर्ण क्षेत्रमा रुपमा बैंकिङ क्षेत्र स्थापित भइसकेको दाबी गर्दै उनले बैंकिङ क्षेत्रबाट भएको लगानीले भोलिका दिनमा ठूलो परिवर्तनको सम्भावना देखिएको उल्लेख गरे । जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा भएको लगानीले आगामी दिनमा मुलुकको अर्थतन्त्रमा नै महत्वपूर्ण भूमिका खेल्ने भनाइ उनको छ ।
अबको लगानी आर्थिक विकासलाई केन्द्रित हुनेगरी गर्नुपर्ने केसीको भनाइ छ । पर्यटन, सेवालगायतका क्षेत्रलाई पनि लगानीको केन्द्रमा राखेर कर्जा विस्तार गरिनुपर्ने उनले बताए । त्यस्तै, नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानीका लागि उनले बैंकिङ क्षेत्रलाई आग्रह गरे । विदेशबाट नेपालमा लगानी भित्र्याउनका लागि नेपालका बैंकसँग सहकार्य गर्नसक्ने पर्याप्त अवसर र सम्भावना रहेको उनले बताएका छन् ।
बैंकिङ क्षेत्र सुधारका लागि सरकारसँग पनि केही अपेक्षा रहेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा पूर्वाधार विकासका लागि पर्याप्त लगानी आवश्यक पर्ने अध्यक्ष केसीले बताए । त्यस्तै, आगाी वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलनमार्फत् पनि विभिन्न क्षेत्रमा लगानीका क्षेत्र पहिचान हुनेमा बैंकिङ क्षेत्र आशावादी रहेको उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार हुँदा सरकार मुकदर्शक बन्यो : सुनील केसी
FACEBOOK COMMENTS