काठमाडौं । रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका विषयमा छलफल भएको थियो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको यूएनओपीएसको उच्चस्तरीय प्राविधिक टोलीले बिहीबार मन्त्री लम्सालसँग भेटवार्ता गरेको थियो ।
भेटमा मन्त्री लम्सालले भदौ १० गते आएको बाढीबाट पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिँदै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारका सबै संयन्त्र परिचालित रहेको बताएका थिए ।
उनले जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर विकास निर्माणका योजना अघि बढाइएको उल्लेख गर्दै क्षतिग्रस्त त्रिशूलीलगायत क्षेत्रमा एकीकृत विकास योजनाअन्तर्गत खानेपानी, अस्थायी आवास र अन्य अत्यावश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताएका थिए ।

यूएनओपीएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन तथा एकीकृत विकासका लागि संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन्। उनले यूएनओपीएसको अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञतालाई नेपालको पुनर्निर्माण योजनासँग जोड्दै दिगो विकासका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने बताएकी थिइन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खानेपानी, भवन, पुललगायत पूर्वाधार निर्माण तथा पुनःस्थापनाका लागि सहयोग उपलब्ध गराउन यूएनओपीएस तयार रहेको उनले बताएकी थिइन् । छलफलमा यूएनओपीएसका नेपाल प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहुदेशीय निर्देशक चार्ल्स क्यालन तथा वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टालगायत अधिकारी सहभागी थिए ।