काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरुमा स्थानीय सरकार र सहरहरुलाई साक्षी प्रतिनिधिका रुपमा नभइ निर्णायक भूमिका सहित सार्थक सहभागितात्मक प्रतिनिधित्व गराउनु पर्ने बताएकी छन् ।
मंसिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८-१०)सम्म वेल्जियमको व्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजना गरिएको अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण गर्दै उनले यस्ता कार्यक्रममा स्थानीय सरकारहरुलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनु पर्ने बताएकी हुन् ।
उनले भनिन्- ‘यस्ता योजनामा प्रतिनिधित्व गराउने विगतको परम्परागत विधि सच्याएर नयाँ रणनीतिक योजनासहित अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’
उनले विकासको दिगोपनाका आयाममा चर्चा गर्दै कसैलाई परनिर्भरतामा पार्ने गरीका परियोजना सञ्चालन गर्न नहुने बताएकी थिइन् । उनले अगाडी भनिन्- ‘भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रुपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नु पर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि प्रोजेक्ट डिजाइनिङ् चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो । यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन । सबै निर्णय भइसकेपछि तोकिएको ढाँचाभन्दा बाहिर आउन नसक्ने अवस्थामा स्थानीयलाई सहभागी गराउने पद्धति केवल औपचारिकताका लागि मात्र हो । यसले योजनासँग स्थानीय अपनत्व जोड्न सक्दैन । स्थानीय सहभागिताको नारा केवल भाव विनाको अक्षर मात्र हुन्छ । विकासमा स्थानीयपन जोड्न त, लोकतान्त्रिक विधिबाट विकेन्द्रीकरणमा आधारित सहभागिता सुनिश्चित हुने रणनीति बनाउनु पर्छ ।’
उनले ग्लोबल गेट वे को सफलताका लागि ४ बुँदे सुझाव दिँदै भनिन्- ‘अर्थपूर्ण सहभागिता, उत्थानशीलता (रिजिलियन्ट), स्थानीय मूल्यसँगको सम्बन्ध र समुदाय केन्द्रीत स्थानीयकरण नतिजा प्राप्तिका स्तम्भ हुन् । यी स्तम्भलाई सन्तुलित उपयोग गर्नुपर्छ ।’

विकासमा स्थानीय सरकारको भूमिका विषयमा धारणा राख्दै उनले, अन्तरराष्ट्रिय लगानी र साझेदारीमा सञ्चालन हुने कार्यक्रममा स्थानीय सरकार अन्तिम सूचीका साझेदार नभइ पहिलो पाइलाका प्रमुख साझेदार भएको उल्लेख गरेकी थिइन् ।

युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल गेटवे लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रीत थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डंगोल, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी थिए ।

FACEBOOK COMMENTS