काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध लगायतका संरचना निर्माण गरिरहेको ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै पटेल–रमण जेभीले सम्झौता अनुसार काम नगरेको भन्दै ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण मागेको छ ।
कम्पनीले विद्युत गृह, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानसहितका सिभिल संरचना बनाउने ठेक्का लिएको थियो ।
ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ ।
प्रगति बढाउन कुनै तदारुकता नदेखाएको र सम्झौताको प्रावधान अनुसार काममा सुधार गर्न दिइएका सूचनालाई समेत बेवास्ता गरेकाले ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल रमण जेभीले कार्यसम्पादन जमानतवापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ।

FACEBOOK COMMENTS