त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँ दङ्ग छन् ।
अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँका दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ रुपैयाँमा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उनले बताए । ‘बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो ३० रुपैयाँका दरले र ठूलो दानालाई प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ । गत वर्ष २५ रुपैयाँका दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो । यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु,’ खड्काले भने ।
सुन्तला बिक्रीबाट ५३ हजार रुपैयाँ आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उनले बताए । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का छन् । वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको बताए। अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै ८३ हजार रुकिो सुन्तला बिक्री गरिएको उनको भनाइ थियो ।
गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालले जनाएको छ । जिल्ला यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले रु चार करोड ६० लाख आम्दानी गरेका उक्त कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गत वर्ष प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेषगरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।
थोरै उत्पादन गर्ने किसानका लागि सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिकरूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उनको भनाइ थियो । सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने ढोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लामा व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानले वार्षिक रु आठ लाखदेखि रु नौ लाखसम्म आम्दानी गरेका छन् ।
व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ दशजना मात्र भए पनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । ‘कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हुँदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ,’ उनले भने ।
FACEBOOK COMMENTS