काठमाडौं । नेकपा (एमाले) लाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन गरेको जग्गा दानविरूद्ध परेको रिट खारेज भएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेको हो । गत शुक्रबारदेखि यो मुद्दा मुसलमान र ढकालको इजलासले हेर्दाहेर्दैमा राखेका थिए ।
कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले हालेको यो रिट पटकपटक स्थगित हुँदै आएको थियो । यो रिट दुई पटक हेर्न नमिल्ने, ७ पटक हेर्न नभ्याइने र एक पटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित भएको थियो ।
यसअघि कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो ।
भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए ।
सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।
अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए ।
उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गरेका छन् ।
राजनीतिक दल र राजनीतिका नाममा लिने÷दिने चन्दा दान पारदर्शी बनाउन परमादेश दिन समेत उनले माग गरेका थिए ।
गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।
भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो ।
FACEBOOK COMMENTS