काठमाडौँ । नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विषेश सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना प्रहरीहरु खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँ तिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिएको छ ।
दसैँ तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
चाडपर्वमा आपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा नि:शुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे ।
प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि देशैभरका प्रहरी युनिटहरुमा लागू गर्न सर्कुलर जारी गरेको छ । दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने प्रवक्ता कडायतले बताए।
FACEBOOK COMMENTS