काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश स्वीकार गर्नुको विकल्प दलहरूसँग नरहेको बताएका छन् ।
नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको शुभकामना सन्देशको सन्दर्भमा धारणा सार्वजनिक गर्न आज शुक्रबार राजावादीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पूर्वराजा र दलहरूको दृष्टिकोणमा कुनै विमति नरहेको भन्दै मुलुकलाई द्वन्द्वमा जान नदिनका लागि पनि दलहरूले पूर्वराजाको सन्देश स्वीकार्नुपर्ने बताएका हुन् ।
‘अहिलेका राजनीतिक दल र नेताहरूलाई पनि अब राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन । त्यसलाई तपाईँहरु (दल)ले स्वीकार गर्नुको विकल्प छैन,’ अधिवक्ता भण्डारीले भने । यो मुलुकलाई अगाडि बढाउन, द्वन्द्वमा जान नदिन र शान्तिपूर्ण निकास दिनका लागि पनि दलहरूले पूर्वराजाको सन्देश स्वीकार्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
उनले राजाले प्रजातन्त्रलाई स्वीकार गरेको, संवैधानिक राजतन्त्रलाई स्वीकार गरेको, नागरिकहरूको सार्वभौमसत्तालाई स्वीकार गरेको, नागरिक पनि राजनीतिक शक्तिका स्रोत हुन् भनेर स्वीकार गरिसकेको अवस्थामा राजनीतिक दृष्टिकोण र राजाको दृष्टिकोणमा कुनै पनि विमति नदेखिएको चर्चा गरे । ‘राजासँग अब तपाईँहरूले विमति राख्ने ठाउँ सकियो । यदि तपाईँहरुले यो कुरा स्वीकार गर्न सक्नुहुन्न भने तपाईँहरू देशका लागि होइन, आफ्नो स्वार्थका लागि राजनीति गरिराख्नु भएको छ भन्ने पुष्टि हुन्छ,’ उनले भने ।
पूर्वराजाको सन्देशले मुलुकको रोडम्याप प्रष्ट पारेको दाबी गर्दै उनले आफू र राजसंस्थाबीच रहेको विमति पनि उक्त सन्देशले समाप्त पारेको उनले बताए । तर, पूर्वराजाले पनि केही विषयमा आफूलाई प्रष्ट पारेर अघि बढ्नुपर्ने धारणा उनले अघि सारेका छन् । ‘राजाले प्रजातन्त्र वा लोकतन्त्रलाई स्वीकार गर्नुपर्छ । राजा राजतन्त्रको पक्षमा होइन राजसंस्थाको पक्षमा उभिनुपर्दछ । राजसंस्था र प्रजातन्त्र वा लोकतन्त्र सँगसँगै जानुपर्छ । यसो गरेमात्रै मुलुक अगाडि बढ्न सक्दछ । यसमा राजाको स्पष्ट धारणा आउनुपर्छ,’ अधिवक्ता भण्डारीले भने ।
FACEBOOK COMMENTS