काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिन आवश्यक भएको बताउदै अब पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका हुन् ।
उनले भनेका छन्– ’नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ’रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो ।
मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला – तर अन्तर्घातले ५ – १० हजार मत तल–माथि होला । देखिएको ४०–५० हजारको मतान्तरलाई “फसाइएको“ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’
पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनले यस्तो अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् ।

पाण्डेले ठूलो नैतिक पराजयपछि पनि नेतृत्वसँग अरूलाई कारबाही गर्ने नैतिक आधार कति बाँकी छ भन्ने प्रश्न उठाएका छन् । उनका अनुसार अहिलेको अवस्थामा नेकपा एमालेको संरचना र कार्यशैलीलाई पुन: व्यवस्थित गर्ने आवश्यकता देखिएको छ ।

उनले यसलाई कुनै षड्यन्त्र नभई पार्टीको वर्तमान सञ्चालन शैलीप्रति जनताले दिएको स्पष्ट अस्वीकारको सन्देशका रूपमा बुझ्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्– ’यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ’रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’

उनले पार्टीले समयमै आफ्नो कार्यशैली परिवर्तन गर्ने साहस नगरे पार्टी र देश दुवैका लागि हानिकारक हुन सक्ने चेतावनी समेत दिएका छन् ।

FACEBOOK COMMENTS