काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको शव हालसम्म पोष्टमार्टम हुन सकेको छैन ।
सरकारले आफूहरूले राखेका माग पूरा नगर्दासम्म कुनै पनि प्रक्रिया अघि नबढाउने परिवारको अडानपछि पोष्टमार्टम रोकिएको हो ।
उनका दाजु रमेश रजकले आज आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो भाइ सुरेशको शव हालसम्म पोष्टमार्टम नभएको र सरकारसमक्ष राखिएका माग पूरा नभएसम्म कुनै पनि प्रक्रिया अगाडि नबढाउने बताएका छन् ।
उनले लेखेका छन्, ”नमस्कार सबै जनालाई ! म रमेश रजक, तीनकुने घटनामा मृत्यु भएको सुरेश रजकको दाइ । मेरो भाइको शव अहिले टिचिङ अस्पतालमा रहेको र पोष्टमार्टम अझै नभएको सबैमाझ जानकारी गराउन चाहन्छु । सरकारसमक्ष प्रस्तुत गरेका माग पूरा नभएसम्म कुनै पनि प्रक्रिया अघि बढाउने छैनौँ । धन्यवाद ।’
पत्रकार रजकले एउटा भवनभित्रबाट राजावादीहरूको आन्दोलनको दृश्य खिचिरहँदा उक्त भवनमा आगजनी भएको थियो । उनको शव सोही भवनमा जलेको अवस्थामा फेला परेको थियो ।
कतिपयले गोली हानेर हत्या गरेपछि सुरेशलाई जलाइएको भन्न थालेपछि यसको गम्भीर अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ । नेपाल पत्रकार महासङ्घले समेत उनको हत्या भएको भन्दै हिजो शनिबार आफ्नो स्थापना दिवसका पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेर शोक मनाउँदै विरोध जनाएको थियो ।
FACEBOOK COMMENTS