नेपालमा सुन तथा चाँदीको व्यापारमा तपाईं स्वयम् एउटा इतिहास हुनुहुन्छ, वास्तवमा कस्तो थियो विगत ?
मेरो पुस्ताले यो क्षेत्रमा काम गरेको यो चौथो पुस्ता हो । पहिला पहिला गड्डीजस्तो पसलहरू हुन्थ्यो, अहिलेको जस्तो शोरूमहरू थिएन । त्यतिबेला कालीगढहरू भनेर सुनारहरू हुन्थ्थे भने अर्को बाँडाहरू हुन्थे । बाँडामा विशेष गरी शाक्यहरू नै हुन्थे । सुनारहरूले जडाउको कामहरू बढी गर्दथे भने बाँडाहरूले प्रायः बुट्टा भर्ने कामहरू धेरै गर्थे । यही परम्परा लामो समय चल्यो, त्यसपछि नेपालमा इन्डियन डिजाइनहरू आउन थाले । ती गहनाहरू फेसनकै रूपमा चल्न थालेपछि नेपाली गरहनाहरूको माग घट्यो । जसका कारण नेपाली कालीगढहरू कम हुँदै गए भने भारतीय कालीगढहरूको सङ्ख्या बढ्दै गयो ।
अहिले पूर्वका सुनारहरूले नेपाली गरगहनाको थोरै माग धानेका छन् । पहिला–पहिला यो पेसामा लागेका नेवार जातीका नयाँ पुस्ताहरू लेखपढमा संलग्न हुन थालेसँगै यो पेसामा आवद्ध हुनेहरूको संख्या घट्दो क्रममा छ । अन्य क्षेत्रका भन्दा यो क्षेत्रका कलाकारहरूको शीप र कौशल निक्कै भिन्न रहेको हुन्छ । यसका लागि तालीम तथा शीप विकासको अभाव देखिएको छ । प्रविधिको बढ्दो प्रयोगका कारण पछिल्लो समय हातले बनाउने कला हराउँदै गएको छ । मेसिनबाट बनाइएका गरगहनाहरू आधुनिक देखिए पनि त्यसमा हालते बनाइएकोझैं कला देख्न पाइँदैन । पहिले–पहिले सुन किन्नलाई फलानो साहुकोमा जाने भन्ने स्थिति हुन्थ्यो । तर, अहिले अनगिन्ती पसलहरू भएका कारण प्रतिस्पर्धा पनि ह्वात्तै बढेको छ । पछिल्लो १०–१५ वर्षको अवधिमा नेपालमा सुन तथा चाँदीका दर्जनौं शोरूमहरू नै खुलिसकेका छन् । काठमाडौंका साथै नेपालका ठूला शहरहरू पोखरा, विराटनगर, वीरगञ्जलगायतका ठाउँहरूमा पनि सुन तथा चाँदीका थुप्रै पसल तथा शोरूमहरू खुलिसकेका छन् । फलस्वरूप नेपालको सुन बजार प्रतिस्पर्धाका साथसाथै विस्तार पनि हुँदै गएको पनि छ ।
माग नै धान्ने स्थिति नभएपछि निर्यातको अवस्था त शून्य नै होला होइन ?
होइन ! हामी निर्यात पनि गरिरहेका छौँ । पछिल्लो तीन महिनाको अन्तरालमा करीब ३५ करोड रूपैयाँ भन्दा बढीको गरगहना निर्यात भएको छ । नेपाली गरगहनालाई सरकारले सहुलियत दिने हो भने यो भन्दा धेरै गुणा राम्रो निर्यात हामी गर्न सक्छौँ । किनभने विभिन्न देशमा रहनुभएका हाम्रा कैयन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले गर्ने धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूमा पारम्पारिक नेपाली गहनाहरूनै प्रयोग गर्न खोज्नुहुन्छ । तर उहाँहरूसम्म गरगहना पु¥याउन सक्ने हाम्रो अवस्था अहिले बनिसकेको छैन । उहाँहरूको मागबमोजिम गहना आपूर्ति गर्न सकेको खण्डमा विदेशी मुद्रा पर्याप्त आर्जन गर्न सकिन्छ । फलस्वरूप नेपालमा अहिले विदेशी मुद्रा सञ्चितीमा आइरहेको कमीलाई समेत यसले न्यूनीकरण गर्न मद्दत गर्न सक्दछ । तर, हामी डलर छैन भनेर सुन आयात रोक्ने कि सुन आयात गरी नेपाली डिजाइनका गहना बचेर डलर आर्जन गर्ने भन्ने दुबिधामा अलमलिएका छौँ । समग्रमा सुनचाँदीको बजार अहिले धेरै राम्रो अवस्थामा पुगेको छ । यद्यपि, सरकारले निर्यात प्रवद्र्धनमा गम्भीर भएर ध्यान दिनुपर्ने अवस्था छ ।
पछिल्लो समय नेपालमा विदेशी मुद्राको अभाव देखिएको छ । जसका कारण सुन आयातको कोटा समेत घटाइएको अवस्था छ । यस्तो समस्या समाधान गर्न के गर्नुपर्ला ?
डलरको समस्या देख्दादेख्दै सुन आयातका लागि सहजता हामीले खोजेका छैनौँ । तर, यसबाहेक अन्य के–के विकल्पमा सुन आयात गर्न सकिन्छ ती कुराहरूमा सरकारले विशेष ध्यान दिनुपर्दछ । जस्तोः विदेशबाट आउने नेपाली यात्रुलाई दिइएको ५०÷५० ग्राम सुन ल्याउने सहुलियत कायम गर्दा पनि दैनिक १०० जना यात्रुबाट ५० किलो सुन नेपाल आउन सक्छ । यसबाट पनि नेपाली सुन बजारमा सहजता आउन सक्छ । त्यस्तै निर्धारित सुन आयातको कोटालाई सिजनअनुसार घटबढ गर्नुपर्ने हुन्छ । सिजनमा हुने खपतलाई सरकारले ध्यान दिन जरुरी छ ।
त्यसरी हवाई यात्रुहरूले ल्याउने थोरै परिमाणको सुन हाम्रो बजारमा आउँछ त ?
उनीहरूमध्ये कसैले बेरुवा औँठी बनाएर ल्याउँछन् भने कसैले बाला बनाएर ल्याउँछन् । उनीहरूलाई पैसा चाहियो भने ती सुनहरू विक्री गर्ने नेपाली बजार नै हो । त्यसरी विक्री गर्दा क्रमशः ढिलोचाँडो सुन बजारमा आउँछ नै । बेच्नै नपर्नेले नबेच्दा पनि भैगयो । अहिले सुन आयातमा कमी आउँदा माग अनुसारको आपूर्ति गर्न सकिएको छैन ।
सुन अत्यावश्यकीय वस्तु होइन । त्यसमाथि विश्वव्यापी कोरोना महामारीले थलिएको नेपाली बजारमा सुनको माग पनि त खासै छैन होला नि ?
त्यसो होइन, कोरोनाको समयमा सुनको माग झन् बढेको मेरो बुझाइ छ । किनभने कोरोनाको समयमा मानिसहरूले भोजभतेरजस्ता गतिविधि गर्न पाएनन् । स्वाभाविक रूपमा आफ्ना छोरोछोरीको विवाह धुमधामसँग गर्ने नेपाली प्रचलन छँदैछ । त्यसमाथि कोरोना महामारीको समयमा कतिपय मानिसले पैसा खर्च गर्ने ठाउँ पाएनन् । उनीहरूले भोजभतेर तथा अन्य शीर्षकमा हुने खर्च यस्ता बहुमूल्य वस्तुमा खर्च गर्ने र छोरोछोरीलाई सुनका गरगहना धेरै दिने गरेको मैले पाएँ ।
नेपाली सुनबजारमा प्रतिस्पर्धा कत्तिको छ ?
सुनमा हामीले बचाउने ज्यालाजर्ती नै हो । तर, बजारमा विभिन्न खालका विज्ञापन र अफरहरूको प्रचार सुनिरहेको हुन्छु । उहाँहरूले के–कसरी ती अफरहरू जारी गर्न सक्नुभयो मैले जान्न सकिरहेको छैन । ३०–४० प्रतिशतसम्मको छूट दिने गरेको मैले पाएको छु । संसारमा कुनै पनि कमोडिटिज त्यही मूल्यमा किन्ने र त्यही मूल्यमा बेच्ने भन्ने हुँदैन । हामीले डलर एक्सचेञ्ज गर्दा त किन्ने र बेच्ने छुट्टा–छुट्टै मूल्य राखिएको छ भने सुनमा छूटसहितको विक्री कसरी हुन्छ मलाइ अचम्म लागिरहेको छ । स्वाभाविक रूपमा नाफा कमाउनका लागि व्यापार गरिन्छ, तर खरीद र विक्रीबीचको अन्तर नै हुँदैन, खरीद भन्दा विक्री त्यो भन्दा कम मूल्यमा गरिएको छ भने नाफा कहाँबाट कमाउन सकिन्छ ? मलाइ लाग्छ हाम्रो मार्केटमा भइरहेको यो प्रतिस्पर्धाबाट राम्रो सन्देश गइरहेको छैन । व्यापारीहरूप्रतिको विश्वसनीयता गुम्ने चिन्ता बढेको छ ।
नेपालको विमानस्थल हुँदै सुन तस्करी भएको धेरै खबरहरू हामीले सुन्दै आएका छौँ । यस्तो गतिविधिले व्यापारीहरूलाई के–कस्तो असर पर्न सक्छ वा फाइदा हुन्छ ?
एक तोला सुन आयात गर्दा हामीले करीब १४ हजार रूपैयाँ भन्सार शुल्क लाग्छ । यो कोणबाट हेर्दा तस्करीले सुन ल्याउँदा स्वतः भन्सार शुल्क नाफा भइहाल्यो । उनीहरूले त्यसरी सुन भित्र्याउँदा हामी व्यवसायीले प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । मलाई लाग्छ नेपालमा डिमाण्ड हाइ भएको समयमा सुन तस्करी हुने गरेको छ । नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर दुबई र चीनबाट जति पनि सुन तस्करी हुने गरेको छ भने ती सबै सुन भारतीय बजारमा जाने गरेको छ । किनभने भारत ठूलो मार्केट हो । त्यस्तो सुन नेपालमा फाट्टफुट्टमात्रै विक्री हुने हो ।
भनेपछि तस्करीपछि सुन निर्यात गरिन्छ हो ?
तस्करी भएर एक्स्पोर्ट हुने होइन । तर, क्यारिङ भनेर बनाइएको २–४ वटालाई लिगलाइज गरिएको छ । निर्यात गर्न त विमानस्थल प्रयोग गर्नुपर्यो । त्यसका लागि फ्लाइट टाइमको इन्स्योरेन्स हुनुपर्यो, एयरपोर्टमा भल्भ हुनुपर्यो, भल्भबाट सेक्युरेटीले निकालेर प्लेनसम्म पुर्याउनुपर्यो, एयरलाइन्सवालाले जिम्मा लिनुपर्यो, ट्रान्जिट पर्यो भने फेरि भल्भमा जान्छ, त्यहाँबाट फेरि अर्को जहाजसम्म पुर्याउनुपर्छ र लक्षित व्यक्ति वा संस्था के हो त्यसको ठेगानामा पुर्याउनुपर्छ । यो सबै प्रक्रियाका लागि सरकारले सहजीकरण गरिदिनुपर्छ । यस अधारमा हेर्ने हो भने नेपालबाट सुनको निर्यात गर्न अत्यन्तै कठिन छ । यो कठिन प्रक्रियाभित्र तस्करहरू छिर्नसक्ने अवस्था रहँदैनजस्तो मलाइ लाग्छ । तर, राज्यको प्रचलित कानुनको परिधिभित्र रहेर व्यवसाय गरिरहेका हामी व्यवसायीका लागि भने माथि उल्लेखित प्रक्रियाहरूलाई सहज बनाई निर्यात प्रवद्र्धनमा सरकारले जोड देओस् भन्ने हाम्रो चाहना छ । बरु त्यसबापत सरकारले केही शुल्क लिन्छ भने पनि लेओस् । यसले कम्तीमा सबैले काम र पारिश्रमिक पाउँछन् भने विदेशी मुद्रा आर्जन गर्न मद्दत पुग्छ ।
तस्करी भएको सुन व्यवसायीहरूले किनेर खपत गर्ने गरेका छन् भनिन्छ नि ?
लोभ भन्ने कुरा हामी सबैलाई हुन्छ । तर, के गर्न हुने, के नहुने र कतिसम्म गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । परिचित व्यक्तिहरूबाट केही मात्रामा खरीद गरिए पनि समग्रमा त्यस्तो होइन । अपरिचित व्यक्तिबाट व्यवसायीले सुन किन्दैनन् । मैले अगाडि नै भनिसके त्यस्तो सुन भारतीय बजारमा खपत हुन्छ । मेरो विचारमा नेपालमा खपत हुने परिमाण २० प्रतिशत भन्दा बढी छैन ।
गरगहना बनाउँदा गुणस्तरको प्रश्न पनि धेरै उठ्ने गरेका छन् । व्यवसायीले उपभोक्तामाथि बदमासी गर्ने सम्भावना कत्तिको रहन्छ ?
खरीदविक्रीको क्रममा केही कमजोरी व्यवसायीबाट हुनसक्छ । तर, उपभोक्ताले सोचेजस्तो त्रुटी गर्ने धेरै आधार हुँदैन । त्यसो त अहिले पनि गाउँघरमा सुन खरीदविक्री हुँदा कसीमा घोटेर अन्दाजको भरमै कारोबार गर्ने चलन छ, जहाँ सुनको गुणस्तर जाँच गर्ने उपकरण वा मेकानिजम नै छैन । शहरबजारमा विद्युतीय उपकरणहरू आए पनि गाउँघरसम्म त्यसको पहुँच पुगिसकेको छैन । यस्तो अवस्थामा शतप्रतिशत भन्ने कुरा हुँदैन । त्यसमाथि मेशिनले बनाउँदा त्यस्तो समस्या कम देखिए पनि हातले बनाउँदा जस्तोसुकै अवस्थामा पनि परिमाणमा कमी आउँछ नै ।
उपभोक्ताले सुन खरीद गर्दा २२ र २४ क्यारेटको भनेर कसरी थाहा पाउन सक्छन् ?
तपाइँले २४ क्यारेटको भनेर सुन किन्नुभयो । त्यो सुन बाहिर हेर्दा २४ क्यारेटकै देखिन्छ, तर त्यसमा रसायन राखिएको छ भने त्यो सुन गालिसकेपछि २२ मात्रै होइन १८ क्यारेटको पनि हुनसक्छ । उसले ज्वाइन के प्रयोग गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । क्वालिटीको ज्वाइन गरिएको छ भने २४ क्यारेट नै भयो । तर, तामा, जस्ता वा अरु धातुहरू घुसाइएको छ भने गुणस्तर कम हुन्छ । यद्यपि, त्यो कुरा सुन किन्दा सामान्य उपभोक्ताको त कुरै छोडौँ हामीजस्तो एक्सपोर्टिजहरूलाई पनि थाहा नहुन सक्छ । गालेपछि मात्रै देख्न सकिन्छ ।
नेपालमा विदेशी कालीगढहरू कति छन् ?
मेरो बिचारमा बंगलादेशी कालीगढहरूमात्रै पाँच लाख जनाको हाराहारीमा छन् । मलाई लाग्छ बंगाली कालीगढ नभएको कुनै पनि पसल छैन । किनभने हाम्रो मानछेहरूको रोजाइमा पनि उनीहरूले बनाएको गरगहना पर्दछ । त्यस्तो गहना नेपालीले बनाउन सक्दैनन् । बाहिरबाट उनीहरू केही कमाउनै लागि आएकाले मिहिनेतपूर्वक काम गर्छन्, समयमा काम गर्छन् र उपभोक्ताको मन जित्दछन्, तर नेपाली कालीगढचाहिँ धेरै अल्छी भएका कारण नेपालमा विदेशी कालीगढको बर्चश्व भइरहेको छ ।
सुनचाँदी तथा रत्न आभूषणको क्षेत्रमा कति मानिसहरूले रोजगारी पाइरहेका छन् ?
मेरो विचारमा काठमाडौं उपत्यकाभित्र मात्रै साना ठूला गरी करीब १ हजार वटा जति सुन पसलहरू छन् । सोही अनुसार कालीगढहरूको कारखाना छन् । यस अनुसार यो क्षेत्रमा कम्तीमा पनि १० हजार जनाले रोजगारी पाएका छन् । त्यसमध्ये कालीगढहरू धेरै विदेशी छन् । उनीहरूले मासिक १ लाख रूपैयाँको हाराहारीमा आम्दानी गरिरहेका हुन्छन् ।
तपाइँ त सुनचाँदी तथा रत्न आभूषण महासंघको अध्यक्ष समेत हुनुहुन्छ । यो संस्थाले व्यवसायको क्षेत्रमा के–कस्तो सहजीकरण गर्दै आएको छ ?
नेपालमा सुनचाँदीसँग आधारित दुई वटा संघ छन् । एउटा रत्न आभूषण महासंघ र अर्को सुनचाँदी व्यवसायी महासंघ । अनि हुबहु अलि–अलि हस्तकला महासंघले पनि गर्छ । हामीले तीन ओटै महासंघका अध्यक्षहरू सम्मिलित एउटा काउन्सिल बनाएका छौँ । पहिला पनि हामीले एउटै व्यवसायमा दुई वटा महासंघ राम्रो भएन भनेर बारम्बार कुरा उठाउँदै आएका हौँ । तर, मूर्तरूपमा कुनै निष्कर्ष निस्किएन । पछिल्लो समय हामी तीनै जना कम्तीमा रत्न आभूषण र सुनचाँदी व्यवसायी महासंघलाई एउटै महासंघ बनाउने विषयमा करीब–करीब सहमत भएका छौँ । महासंघ एकीकरण गर्ने सन्दर्भमा व्यक्तिगत रूपमा मैले कुनै पनि पद नलिने जानकारी पनि उहाँहरूलाई गराइसकेको छु । यद्यपि, मैले नेतृत्व गरेको महासंघमा आवद्ध सदस्यहरूको हक, हित, अधिकार र प्रवर्द्धनका लागि हामीले काम गरिरहेका छौँ ।
अन्तिममा केही भन्न चाहानुहुन्छ ?
राज्यले यो क्षेत्रमा धेरै गर्न बाँकी छ । कतिपय कुराहरू हुँदै गएका छन् भने केही भइरहेका पनि छन् । मुलभूत रूपमा कच्चा पदार्थको समस्या हल हुनुपर्यो । साथै व्यवसायीले व्यवसाय क्षेत्र वरपर सुन बोकेर हिडडुल गर्न पाउने सुविधा पनि हामीले पाउनुपर्छ । देशभित्र व्यवसायीले सुनको होलसेल खोलेर आफ्नो व्यवसाय विस्तार गर्न पाउनुपर्छ । अहिले सुन बोकेको मानिस भेट्यो कि पक्रिहाल्ने स्थिति छ । त्यसबाट व्यवसायी र तस्कर छुट्याउन सकिने कुनै अनुमतिपत्र जारी गर्नुपरे पनि सरकारले जारी गरोस् भन्न चाहान्छु ।
प्रस्तुति : आयुषा भट्ट
FACEBOOK COMMENTS