सुर्खेत । कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगङ्गा नगरपालिका–४ हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ ।
प्रदेश सरकारले आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन नगर्दा प्रयोगशाला अलपत्र परेको हो ।
कर्णाली प्रदेश सरकारले ६ वर्षअघि ७० लाख लागतमा विषादी प्रयोगशाला स्थापनाका लागि भवन निर्माण गरेको थियो । कर्मचारी र प्रयोगशालामा आवश्यक उपकरण खरिद गर्ने पर्याप्त बजेट नभएपछि भवन सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले बताए ।
प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको हो । रोकायले प्रयोगशाला निर्माण भए पनि आवश्यक उपकरण खरिद र जनशक्ति नहुँदा सञ्चालन हुन नसकेको बताउँदै सरोकार भएका निकायसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको जानकारी दिए । उनका अनुसार हालसम्म पनि व्यवस्थापन हुन नसक्दा सञ्चालनमा समस्या भइरहेको हो ।
मन्त्रालयले हर्रे र सल्यान कपुरकोटको प्रयोगशाला सञ्चालन गर्न रु २९ लाख मात्र विनियोजन गरेको जनाउँदै प्रयोगशालाका प्रमुख रोकायले उक्त रकम कम हुने भएकाले रु ६५ लाख बजेट माग गरी मन्त्रालयमा पठाइएको उल्लेख गरे । “आवश्यक पर्ने उपकरण, सामग्री खरिद गर्न बजेट पुग्दैन । सुर्खेत र कपुरकोटको प्रयोगशालाका लागि छ–छ जना कर्मचारी माग गरेका छौँ । तर, अहिलेसम्म उपलब्ध हुनसकेको छैन”, उनले भने ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयोगशाला सञ्चालनका लागि रकम कम भएकाले रकमान्तर गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जानकारी दिए ।
FACEBOOK COMMENTS