काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्। उनीहरुले सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ लगायतका व्यानार बोकेका थिए ।
पीडितलाई न्याय दिलाउने आवाज उठाउन तथा मृत आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न माइतीघरमा भेला भएको अधिकारकर्मीहरूले बताएका छन्।
उनीहरुले निष्पक्ष छानविनको माग गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा पनि इनिशाको न्यायको माग गर्दै आवाज उठ्न थालेको छ ।
गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

शरीरभरि निलडाम र रगताम्य अवस्थामा फेला परेकी विकलाई अस्पताल पुयाउने वितिकै मृत घोषणा गरेका थिए । प्रहरीले उनको बलात्कारपछि हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

FACEBOOK COMMENTS