काठमाडौं । प्रहरीले सर्वसाधारण यात्रुहरूलाई जबर्जस्ती तान्ने, दु:ख तथा हैरानी दिई अभद्र व्यवहार गरेको भन्दै १३ जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईका अनुसार प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट १२ जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कलंकीबाट एकजनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
उनीहरूले काठमाडौंबाहिर जाने यात्रुहरूलाई आफूले भनेको सवारीमा यात्रा गराउनका लागि झोला तथा सामानहरू जबर्जस्ती तान्ने, दु:ख र हैरानी दिई अभद्र व्यवहार गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि खटिएको टोलीले १३ जनालाई नियन्त्रणमा लिएको भट्टराईले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।