काठमाडौं । सूर्यदर्शन सहकारी हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् । ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कास्की वित्तिय स्थितिका विषयमा प्रस्तुत विश्लेषणात्मक प्रतिवेद’ले ग्यालेक्सी टेलिभिजनका पूर्वपत्रकार समेत रहेका रवि लामिछाने रकम हिनामिनामा मुछिएका हुन् ।
प्रतिवेदन अनुसार ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ । साथै, सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने रवि लामिछाने समेत सहकारीको रकम हिनामिनामा मतियार बनेको देखिएको हो ।
सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अध्यक्ष तथा सञ्चालकहरूले पेस्कीका रूपमा लिने र कृत्रिम खाता खडा गरी रकम जम्मा गरेको देखाएर फर्छयोट गर्ने गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
लामिछाने स्वयंले उक्त सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आए पनि उनले ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोड ऋण लिएको प्रतिवेदनमा देखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘कर्जा नं. ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फर्छयोट गरिएको छ ।’ उनले लिएको ऋण पनि जीबी राईकै शैलीमा पुलेसो कृत्रिम खाता खडा गरी फर्छयोट गरेको भेटिएको हो ।
यसरी सहकारीसँग सम्बन्ध नभएको व्यक्तिले आन्तरिक ऋणबापत एक करोड लिने र कृत्रिम खाता गरी फर्छयोट गरेको भनिए पनि उक्त रकम सहकारीका नाममा आएको नदेखिएको छानबिन टोलीका अधिकारीहरूले बताएका छन् ।
त्यस्तै सूर्यदर्शनका बचत अन्य सहकारीमा सारेर ग्यालेक्सी टेलिभिजनमा पुर्याइएको देखिन्छ । त्यसका लागि जीबी राईकै समूहले चितवनमा खोलेको सहारा बचत तथा ऋण सहकारी संस्थालाई ६० लाख ५० हजार, सुप्रिम बचत तथा ऋण सहकारीलाई ४६ लाख ५० हजार, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई ८४ लाख ३१ हजार रुपैयाँ ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।
१ करोड ऋण लिएको प्रमाण चाहियो तिर्छुः रवि लामिछाने
FACEBOOK COMMENTS