कठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा हिजो सोमबार सम्पन्न भएको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले १३ दशमलव ३६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ० दशमलव ६६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी बृद्धि भई रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० कायम हुने छ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नाका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन समेत सम्पन्न गरेको छ ।
जस अनुसार संस्थापक शेयरधनी समूह ‘क’बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित सबै निर्विरोध भएका हुन् ।
कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ वटा शाखा सञ्जालमा रहेका ४९ हजार ७१७ अभिकर्ताहरूमार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट रू. २ अर्ब १ करोड ८५ लाख ७१ ह्जार ३१८ बीमाशुल्क आर्जन गर्नाका साथै कुल दाबी भुक्तानी रू. २९ करोड १८ लाख ६७ हजार ३१० गरेको जनाएको छ ।
FACEBOOK COMMENTS