काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको उपाधि जितेका छन् ।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेशनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले आज ५–अन्डर ६७ को स्कोर गरे । राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।
समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे । एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए । उनले आज ५–अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योर तर्फ दोस्रो भए ।
साविक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए । उनले आज इभन–पार ७२ स्कोर गरे। प्रोतर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २सय ७४ सहित पाँचौं स्थानमा रहे । उनले आज ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए ।
धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे।समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए । प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।
दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २–अन्डर ७० स्कोर गरे । प्रोतर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे । शुक्रबहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए । आज ५–अन्डर ६७ स्कोर गरे । प्रोतर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे ।
समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० माआजको खेल सकाए । प्रोतर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरणविक्रम शाही प्रोतर्फ उत्कृष्ट दशमा रहे ।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगीरहित ५–अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । ११औं र १२औं होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए । तर ४–पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक–एक सट बचाए । १४ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।
सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले । तेस्रो होलमा डबल बोगी खेपे । छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
एनपीजीएद्वारा आयोजित चारदिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको थियो । जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए ।
अब शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ ३० प्रोफेशनलर १२० जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
FACEBOOK COMMENTS