काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् ।
आज ६-अन्डर ६२ को शानदार स्कोरमा एमेच्योर सद्भाव आचार्यले समग्रमा १५-अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाएका हुन् ।
उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४-अन्डर २५८ को रकर्ड तोडेका हुन् । उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रोतर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
अन्तिम दिन आज खेल शुरू गर्दा सद्भाव निरजभन्दा एक स्ट्रोकले पछि थिए । आज फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे ।
११औं होल टर्निङ प्वाइन्ट बन्यो । सद्भावले बडी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सद्भावले एक स्ट्रोकको अग्रता बनाए । सद्भावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिँदै ब्याक नाइन २-अन्डर ३२ मा सकाए र उपाधि जिते । निरजले भने ब्याक नाइन १-ओभर ३५ मा पूरा गरे । सद्भावले आज पनि बोगीरहित प्रदर्शन गरे ।
दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे । एमेच्योर राहुल विके समग्रमा ६-अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४-अण्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । उनले आफू धेरै भाग्यमानी भएको बताए । प्रोफेनल प्रतिस्पर्धासँग खेल्दा अनुभव बटुलेको बताए ।
चार दिने प्रतियोगितामा कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS