काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलि सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरू हुँदै छ ।
‘असार २ गतेदेखि ५ गतेसम्म हुने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू हुने नियम रहेको छ । कट बनाउने शीर्ष २१ प्रोफेशनल खेलाडीहरू (टाइ परेमा हो समेत) तथा त्यही स्कोर बनाउने एमेच्योर खेलाडीहरूले अन्तिम दुई राउण्डको लागि स्थान बनाउने छन,’ नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनका महासचिव दीपक आचार्यले भने ।
चारदिने प्रतियोगितामा ३७ जना प्रोफेशनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । साथै प्रतियोगितामा १८ जना उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
सिजनभर उत्कृष्ट प्रदर्शन गर्दै तीन उपाधि जितेर ७ लाख ४२ हजार ५ सय नगद पुरस्कार पाएका निरज तामाङ जारी सिजनको अर्डर अफ मेरिटकप शीर्ष स्थानमा छन् । तोरण शाही (४ लाख ९ हजार ५ सय) दोस्रो र भुवन नगरकोटी (३ लाख ६४ हजार ५ सय) तेस्रो स्थानमा छन् ।
भारतमा प्रोफेसनल गल्फ टुर खेलिरहेका शुक्रबहादुर राई र सुवास तामाङले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एमेच्योरतर्फ यो सिजनमा उपाधि जितेका सदभाव आचार्य र राहुल विश्वकर्मा तथा भुटानका शीर्ष एमेच्योर निम दोर्जी तामाङले प्रो–गल्फरहरूलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
चारदिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेशनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, ‘यो सिजनको अन्तिम प्रतियोगिता नेपाली गल्फ इतिहासमै सबैभन्दा ठूलो पुरस्कार राशिसहित हुँदै छ । खेलाडीहरू निकै जोशमा छन्, उनीहरू सिजनलाई सफलतापूर्वक टुङ्ग्याउन तत्पर छन् ।
FACEBOOK COMMENTS