काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ कोअन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन रवि खड्का शीर्ष स्थानमा रहन सफल भएका छन् ।
५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुवास ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । ३–अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान बाँडे ।
२–अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा सातौं स्थानमा छन् । १–अन्डर ७१ स्कोर गरेका दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे ।
पूर्वनम्बर एक गल्फर रविले छैटौंदेखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा उनले १२औं र १७औं होलमा एक–एक सट बचाए । १३औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे ।
सुवासले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । छैटौं होलमा बर्डी प्रहार गरे पनि पाँचौं र सातौं होलमा एक–एक सट खेरफाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औं होलमा बर्डी प्रहार गरे । ५–पारको १५औं होलमा इगलको सफलता हात पारे ।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रूपमा शीर्ष स्थानमा रहे । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे । छैटौं होलमा एक सट बचाए । पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । यसपछि ११औं र१४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे । ब्याक नाइन इभन–पार ३६ खेले ।
राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर ३४ मा सकाए । उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे । वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौं होलमा चार सट खेर फाले । उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।
नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेशनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । साथै, प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
चारदिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेशनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
FACEBOOK COMMENTS