काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको दोस्रो दिन एमेच्योर राहुल विश्वकर्मा र प्रो सुवास तामाङ संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।
समग्रमा १०–अन्डर १ सय ३४ को स्कोरमा उनीहरूले सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारे । राहुलले आज ७–अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुवासले ६–अन्डर ६६ को स्कोर दर्ज गरे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ८–अन्डर ६४ को स्कोर निकाले । समग्रमा ८–अन्डर १ सय ३६ सहित उनी तेस्रो स्थानमा उक्लिए ।
समग्रमा ७–अन्डर १ सय ३७ का साथ निरज तामाङ चौथो स्थानमा छन् । उनले आज ५–अन्डर ६७ मा खेल सकाए । समग्रमा ६–अन्डर १ सय ३८ स्कोरकासाथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौं स्थानमा रहे । उनले आज ३–अन्डर ६९ को स्कोर जोडे । एमेच्योर वाङ्चेन ढोन्डुप ४–अन्डर ६८ स्कोर सहित समग्रमा ५–अन्डर १ सय ३९ सहित छैटौं स्थानमा उक्लिए ।
यस्तै समग्रमा ३–अन्डर १ सय ४१ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रूपमा सातौं स्थानमा रहे । दिनेशले ३–अन्डर ६९ र भुवनले इभन–पार ७२ मा खेल सकाए । कृष्णमान राजबाहक र पहिलो दिनका लिडर रबि खड्का समग्रमा २–अन्डर १ सय ४२ को स्कोरमा संयुक्त रूपमा नबौं स्थानमा छन् । कृष्णमानले ३–अन्डर ६९ र रबिले ३–ओभर ७५ को स्कोरमा दोस्रो दिनको खेल सकाए ।
राहुलले आज फ्रन्ट नाइन बोगीरहित खेले । पहिलो, दोस्रो, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलको खेल ४–अन्डर ३२ खेले । यसपछि उनले ११औं होलमा एक सट खेर फाले । तर १०औं, १२औं १७औं र १८औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३३ मा सकाए ।
सुवासले फ्रन्ट नाइन र ब्याक नाइन दुवै ३–अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले । यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०औं देखि १२औं होलमा लगातार तीन बर्डी खेल्दा बाँकी छ होलमा पार बचाए ।
सदभावले फ्रन्ट नाइनमा ७–अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, तेस्रो, चौथो तथा छैटौ देखि नवौं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गरे । यसपछि ११औं र १२औं होलमा पनि एक–एक सट बचाए । तर चार पारको १८औं होलमा एक सट खेर फाले । ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।
३६ होलको समाप्तिमा ६–ओभर १ सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेशनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् । सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, रामे मगर, रमेश अधिकारी, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, वसन्तराज गुरूङ, शिवराम पौडेल र बलभद्र राईले कट बनाए । यस्तै एमेच्योर गल्फर टासी छिरिङ र पदमहाङ लिम्बू पनि कट बनाउन सफल रहे ।
नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेशनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशिको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।
चारदिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेशनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
FACEBOOK COMMENTS