महोत्तरी । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको खेल समाप्त हुँदा भुवन नगरकोटीले फराकिलो अग्रता लिँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन् ।
पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा बुधबार सम्पन्न दोस्रो राउन्डमा भुवनले बोगीरहित दुई अन्डर ७० को उत्कृष्ट प्रदर्शन गरे । ३६ होलको खेल सकिँदा उनले समग्रमा सात अन्डर १३७ स्कोर बनाएका छन् । उनले दोस्रो स्थानमा संयुक्त रूपमा रहेका टंकबहादुर कार्की र भुवनकुमार रोक्कालाई छ स्ट्रोकले पछि पारेका छन् । टंक र भुवनकुमार दुवैले समग्रमा एक अन्डर १४३ स्कोर बनाएका छन् ।
दोस्रो राउन्डमा टंकले एक अन्डर ७१ खेले भने भुवनकुमार रोक्काले दुई ओभर ७४ स्कोर गरे । सुमन परियार दुई अन्डर ७० सहित समग्रमा इभन पार १४४ स्कोरका साथ चौथो स्थानमा छन् ।
कुल एक ओभर १४५ स्कोरसहित नेपालका नम्बर एक व्यावसायिक गल्फर निरज तामाङ, सुमन राई र धनबहादुर थापा संयुक्त पाँचौँ स्थानमा छन् । सञ्जय लामाले एक अन्डर ७१ खेलेर कुल दुई ओभर १४६ स्कोरसहित आठौँ स्थानमा उक्लिएका छन् ।
जयराम श्रेष्ठ र दिनेश प्रजापतिले तीन ओभर १४७ स्कोरसहित संयुक्त नवौँ स्थान बाँडेका छन् । जयरामले दिनकै उत्कृष्ट तीन अन्डर ५९ स्कोर बनाए भने दिनेशले दुई ओभर ७४ खेले ।

आठ ओभर १५२ स्कोरमा कट लागु भएको छ । कट पार गर्दै अठार व्यावसायिक र दुई एमेच्योर गल्फर अन्तिम राउन्डमा प्रवेश गरेका छन् । व्यावसायिकतर्फ कुमार कामी, रवि खड्का, रमेश अधिकारी, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई, सबिन सापकोटा र दीपक मगरले कट पार गरेका छन् ।

एमेच्योरतर्फ प्रकृत तामाङ तीन ओभर १४७ स्कोरसहित शीर्ष स्थानमा छन् । उनी समग्रमा संयुक्त नवौँ स्थानमा रहेका छन् । प्रकृत पाँच ओभर १४९ स्कोरसहित दोस्रो स्थानमा रहेका सुन्दर राईभन्दा दुई स्ट्रोकले अगाडि छन् । सुन्दरले दोस्रो राउन्डमा दुई ओभर ७४ खेले ।

शीर्ष स्थानमा रहेका भुवनले चौथो र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन दुई अन्डर ३४ मा सकाए । त्यसपछि ब्याक नाइनका सबै होलमा पार जोगाउँदै इभन पार ३६ खेले । यसअघि मंगलबार उनले यही मैदानमा पाँच अन्डर ६७ स्कोर बनाउँदै कोर्स रेकर्ड कायम गरेका थिए ।

सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको यस प्रतियोगितामा ३० व्यावसायिक र छ एमेच्योर गरी कुल ३६ गल्फर सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ स्थानमा रहने खेलाडीले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS