काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धिका लागि निर्देशन दिए पनि मर्जरमा जान प्रोत्साहित नगरेको बताएका छन् ।
कर्पोरेट खबरसँग कुराकानी गर्दै उनले पुँजी वृद्धिको एउटा उपाए कम्पनीहरूबीचको मर्जर भए पनि प्राधिकरणले त्यसै गर्नुपर्छ भनेर कतै नभनेको र जति कम्पनी मर्जरमा गएका छन् ती सबै खुसीसाथ गएको बताएका हुन् ।
‘हामीले पुँजी वृद्धिका लागि मर्जरमै जाउ भनेका थिएनौँ । जति कम्पनी मर्जरमा गए ती सबै खुसीसाथ गएको मेरो बुझाई छ,’ उनले भने, ‘नेपालको परिप्रेक्ष्यमा हामीसँग भएका बीमा कम्पनीको संख्या र उनीहरूसँग भएको चुक्ता पुँजीले यहाँको रिस्कलाई धान्न सक्दैन भनेर पुँजी वृद्धिको रणनीति अघि सारिएको हो ।’
बीमितको सबै रिस्क पुनर्वीमा कम्पनीले मात्र कभर नगर्ने र कम्पनीले समेत योगदान गर्नुपर्ने हुँदा उनीहरूसँग भएको पुँजीले त्यो रिस्क धान्न नसक्ने अवस्थाकाबीच पुँजी वृद्धिको योजना अघि सारिएको उनले बताए । ‘कम्पनीहरूसँग जुन चुक्ता पुँजी थियो त्यसले सम्पूर्ण जोखिम बहन गर्नसक्ने अवस्था थिएन । जब बढी रिस्क कभरको कुरा कम्पनीहरूले गर्छन् भने उसलाई बढी पुँजी पनि चाहिन्छ,’ अध्यक्ष सिलवालले कर्पोरेट खबरसँग भने, ‘अहिले रिसर्च, डेभलपमेन्ट र इन्नोभेसनमा लगानी गर्ने बेला हो । यस्तो बेलामा खुद्राखाद्री पैसा लिएर बसेर म सबै बेहोर्छु भन्दा कसले पत्याउने ? त्यसैले पनि बीमा कम्पनीहरूको पुँजी वृद्धि अनिवार्य थियो ।’
उनले अहिलेका लागि वृद्धि भएको पुँजी पर्याप्त भए पनि भविष्यमा यसले नपुग्ने पनि बताए । ‘एक पटक होइन समय अनुसार पटक–पटक पुँजी वृद्धि गर्दै जानुपर्छ । कम्पनीको क्षमता वृद्धिसँगै जोखिम बहनको क्षमता पनि बढ्छ,’ उनले अगाडि भने, ‘पुँजी उपयोगिताको कुरामा कम्पनीहरूले योजना बनाउने हो । हिँजोसम्म दुई अर्ब रुपैयाँ पुँजी भएको कम्पनीसँग आज पाँच अर्ब रुपैयाँ छ । यसको रिटर्नका लागि योजना नबनाइ हुँदैन । अब तपाइँ इन्नोभेसनमा जानुभएन भने पोलिसी बिक्री हुँदैन, थोरै पैसामा धेरै सर्भिस दिनुभएन भने पनि पोलिसी बिक्री हुँदैन । तपाइँ अब नयाँ आइडियामा जानुपर्यो । कुन भूगोलमा कस्तो पोलिसी बिक्री हुन्छ रिसर्च गरेर त्यस्तै पोलिसी जारी गर्नुपर्यो ।’
अध्यक्ष सिलवालसँगको विस्तृत कुराकानी आइतबार प्रकाशित गरिने छ ।
FACEBOOK COMMENTS