काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बम्पर लाभांश कम्पनीको साधारण सभाले पारित गरेको छ ।
विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा आज सम्पन्न १६औँ साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को १० दशमलव २६ प्रतिशतका दरले हुने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रूपैयाँ ४६ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७ रूपैयाँ ४६ पैसा पुग्ने बताइएको छ । यस्तै, सभाले हाल कायम चुक्ता पूँजीको २४ दशमलव ७४ प्रतिशतका दरले हुने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रूपैयाँ ५४ पैसा नगद लाभांश (बोनस शेयरको कर प्रयोजन समेतका लागि) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीका सञ्चालकज्यूहरू, शेयरधनीहरू, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको मिति २०७९ साल पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–०८० को मिति २०७९ साल पुस ६ गतेको नाफा तथा नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लेखा परीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९–०८० को नाफा र नोक्सान हिसाव, नगद प्रवाह विवरण एवम् तत्सम्बन्धी अनुसूचीहरू माथि छलफल गरी पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०–०८१ का लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
FACEBOOK COMMENTS