काठमाडौं । लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा प्रमुख वक्ताका रुपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए ।
नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको बताए । आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
गैरआवासीय नेपाली ऐनलगायत ऐनहरु संशोधन नहुँदा समस्या भएको, संविधानले बोलेपछि कार्यान्वयन गर्नुपर्नेमा सम्पत्ति किन्न नपाएको, के कारणले डर सिर्जना भएको हो त्यसमा छलफल गरी क्लियर गर्नुपर्ने बताए । ‘१४ वटा निकायमा लगानी हेर्ने फोकल पर्सन तोकिदिएका छौं । अब सहजीकरण हुनेछ’, उनले भने ।
दुइतिहाइ सरकार गठन भइसकेपछि लगानीको वातावरण बन्ने एक वर्षमा १० खर्ब पैसा आउनसक्ने ठाउँमा पुर्याउन सक्ने आत्मविश्वास विकास भएको बताए । अब आर्थिक, जनशक्ति र कानुनी रुपमा तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘तपाइसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्नुस् । हामी अगाडि बढाउन तयार छौं । हामी एनआरएनएसँग एमओयु नै गरेर जाने सोचेका छौं’, उनले भने ।


FACEBOOK COMMENTS