काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बताइएको छ । अहिले कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् छ ।
यस्तै, आजको बैठकले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटनाहरूको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी भइरहेको बताइएको छ । कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेन्जी आन्दोलनको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरिसकेको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेकासहित मृत्यु हुनेको संख्या ७४ पुगेको छ । यस्तै, मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च न्यायिक थलो सर्वोच्च अदालतसहित महत्वपूर्ण सरकारी कार्यालय, निजी सम्पत्ति र राजनीतिक दलका नेता र कतिपय उच्च ओहोदाका कर्मचारीहरूको समेत घरमा आगजनी भएको छ ।
यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ । तर, कतिपय जेन्जीहरूले आन्दोलनका क्रममा भएका घटनाको छानविन गरी कारबाही गर्न नहुने तर्क पनि गर्दै आएका छन् । यस्ता घटना आन्दोलनमा सामान्य हुने उनीहरूको भनाइ छ ।
FACEBOOK COMMENTS