काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।
सो क्रममा नेपाली सेनाले प्रधानमन्त्री कार्कीलाई हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो भने निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेकी छन् ।
निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन् ।



त्यस्तै, प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते हुन नहुने भन्दै यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिइन् ।

त्यस्तै, जेन जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्न र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नसमेत उनले निर्देशन दिइन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS