काठमाडौं । निर्वाचनको प्रचार प्रसारको दौरानमा अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘डाक्टर साब नयाँ बजेटको खाका कोर्न सुरु गर्नुस‘, भनेको कुरा जनजनमा गुन्जियो । त्यसैले त होला तनहुँका मतदाताले वाग्लेलाई यसटक पनि भारी मतले जिताए । आफनै निर्वाचन क्षेत्रका उम्मेदवार अर्थमन्त्री बन्नेछन् भन्ने भएपछि मतदाताले नजिताउन पनि कसरी ?
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय युवा एवं काठमाडौं महानगरपालिकाका पुर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि सिंगै देश घण्टीमय भयो । अर्थात नयाँ गर्छौं भन्ने पात्रहरुसँग देशले धेरै आश गर्यो । त्यसकारण देशभर घण्टी बज्यो ।
बालेन र स्वर्णिम मात्र होइन देशभर घण्टी बज्नुमा रविले पुराना दलहरुबाट पाएको सास्ती पनि अर्को कारण हो । भए नभएका मुद्धा मामिलाको उल्झनमा अड्काएर भर्खरै जन्मिएको पार्टीलाई अघि बढ्न नदिने पुरानाहरुको अभिष्ट कालान्तारमा असफल भयो ।
अर्को, रविसँग अन्याय, अत्याचार, गरिवी, रोग, भोक र पिडाहरु संगालेर निक्षरो जिवन बाँचेकाहरुको ठूलो आशा देखिन्छ । फलत देशभर घण्टी बज्यो । मतदाताहरुले मुलत यिनै र यस्तै पात्र हेरेर भोट हाले । उसका देश भरका उम्मेदवारले जित निकाल्न सफल भए । र, उनीहरु प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगे ।
अब जुन हिसाबले निर्वाचन पुर्व राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री फलानो फलानो हुनेछन् भनेर प्रचार गरियो । त्यही हिसाबमा मन्त्रीमण्डल बनोस् भनेर धेरैले चाहेका छन् । अझ देश विकासको महत्वपूर्ण बागडोर सम्हाल्ने अर्थमन्त्रीमा प्रचार गरिए जस्तै स्वर्णिम वाग्लेको प्रतिक्षा अर्थतन्त्र र सेयर बजारले गरेको छ ।

सिंगै देशको बजेट बनाउने जिम्मेवारी रहने अर्थ मन्त्रालयमा यसपटक अन्र्तराष्ट्रिय स्तरमा परिचित अर्थशास्त्री तथा रास्वपा नेता स्वर्णिम वाग्ले पुग्दैछन् । विश्वविख्यात भनिएका युर्निभर्सिटीहरुमा पढेका, विश्व बैंक तथा युएनडिपी जस्ता अन्र्तराष्ट्रिय संस्थाहरुमा सल्लाकारको रुपमा काम गरेका वाग्लेलाई पनि काम देखाउने मौका छ । सायद आफै अर्थमन्त्री हुने दिनहरुको प्रतिक्षामा विगतका सरकारहरुलाई उनले खासै गम्भिर सल्लाह दिएनन् । आफैले ठाउँमा पुगेपछि काम गर्नुपर्छ भनेर पनि होला विगतका सरकारहरुलाई आफनो विज्ञताको पोको फुकाएनन् ।

साह्रै बाठा स्वभावका वाग्ले धेरैजसो अन्र्तराष्ट्रिय अर्थतन्त्र र गतिविधिमा रुची राख्छन् । उनलाई खुद्रा मसिना विषयमा रुची नै छैन भन्दा पनि हुन्छ । खासगरी नेपाली मिडियाहरुमा पनि उनले अन्र्तवार्ता बाहेक आर्टिकल लेखेनन् । बरु विदेशी मिडियाहरुमा उनको रुची देखिन्छ र तिनैका सन्र्दभहरु कोट्याएका देखिन्छन् । जे होस् उनलाई सामाजिक सञ्जालमा पछ्याउँदा विदेशका विभिन्न फोरमहरुमा नेपालको पक्षमा बोलेका छन् । गम्भिर बौद्धिक बहसहरु गरेका छन् ।

कतिपय देशहरुको अर्थतन्त्र सुधार गर्न गम्भिर सल्लाह, सुझाव र प्रतिवेदन नै उनले लेखिदिएका छन् । उनलाई नेपालले भन्दा बढी विदेशी विद्धवानहरुले चिन्दछन् । अर्थतन्त्रका यत्तिको ज्ञाता मान्छे नेपालमा अर्थमन्त्री बन्दैछन् । सायद अब उनले आफनो ज्ञान र विज्ञताको पोको फुकाउनेछन् र सलक्र्क नेपाली अर्थतन्त्रको काँचुली फेरिने हिसावको बजेट तथा नीति कार्यक्रम ल्याउनेछन् । अहिलेलाई त्यही आशा गरौं । किनकी वाग्लेले दुनियाँको विकास देखेका छन् । त्यहाँ लागु भएका नीति र कार्यक्रम केलाएका छन् । दुनियाँलाई सुझाव दिएका छन् । अब उनले नेपालको विकास र सम्बृद्धिको चित्र कसरी कोर्नेछन् त्यो हेर्दै जाउला ।

तर उनलाई रास्वपाले जसरी चुनाव अघि अर्थमन्त्रीको पोश्चर बनाएको थियो । अब दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व गर्ने रास्वपाले उनलाई अर्थमन्त्रीको रुपमा उभ्याउनै पर्छ । किनकी धेरै लामो समय देखि नेपालको अर्थतन्त्र, सेयर बजार आदीले समकालिन विश्व ब्यवस्था र आधुनिक विकास बुझेको विज्ञ अर्थमन्त्री खोजेको थियो ।

खासगरी नेपाल भुगोलका हिसाबले ४० नम्बरको मध्यम स्तरको देशको हो । ३ करोड जनसंख्या भएको विकाशील देशमा उक्लदै गरेको राष्ट्र हो । प्राकृतिक सम्पदा र सँस्कृतिले सम्पन्न देश भएकोले यहाँ मुलत उर्जा र पर्यटन क्षेत्र सम्बृद्धिका मुल कडी हुन् । हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । कृषि उत्पादन र जडिवुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थीत छ । त्यसकारण हामीले तरिका जान्ने हो भने हामी हाम्रा वस्तु, सेवाको बजारको दृष्टिकोणले पनि ठूुलो बजारको समिप्यमा छौ ।
बाटो, घाटो, बिजुली, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी जस्ता आधारभुत पूर्वाधारहरुमा समेत देशले निकै प्रगती गरिसकेको अवस्था छ । देशका हरेक सदरमुकाम पीच सडकले जोडिइसकेका छन् । गाउँगाउँ, दुरदराजसम्म पक्की सडकहरु पुगिसकेका छन् । समकालिन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो । पर्यटनको यथोचित प्रर्बद्धन गर्नुपर्ने विषय हो । विश्वमा अग्ला हिमालहरुमध्ये सगरमाथा सहित १८ अग्ला हिमाल नेपालमै अवस्थीत छन् ।
हिमाल र हिमाली बसोबास, संस्कार, संस्कृति हेर्न नेपाल बाहेक विश्वमा अर्को विकल्प छैन । अग्ला गगनचुम्बी महाभारत पर्वतहरु हेर्न र त्यहाँ पाइने अनेकन प्रजातीका फुल, जनावर हेर्न नेपाल बाहेक अर्को विकल्प छैन ।
त्यसकारण सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसावको विकास र सम्बृद्धिको उचाइ भर्ने बेला आएको छ । त्यसको ड्राइभर सिटमा स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको रुपमा देशले हेर्न चाहेको छ ।
हाम्रो देशलाई कृत्रिम रुपमा विकसित भनिएका देशहरु जस्तो होइन् रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफिल टावर अथवा बु्रर्ज खलिफा होइन् साँस्कृतिक रुपले सम्पन्न बस्तीहरु बनाउनु छ । किनकी आइफिल टावरहरु हाम्रा सगरमाथाका फेदी बराबर पनि होइनन् । ती कुनैपनि कारण ढल्न सक्छन् तर हाम्रो प्रकृतिका देब सगरमाथाहरु कहिल्यै ढल्नेछैनन् ।
नयाँ सरकारलाई सुझाव
अब बन्ने सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामिण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । त्यस आलवा २६ वटा जो राष्ट्रिय गौरवका निर्माणाधिन आयोजना छन् ती समयमै सक्नेगरी लाग्नु पर्छ ।
लगानीका प्लेट फर्महरु सेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनका सरकारी झन्झट, कर्मचारीहरुको ढिलासुस्ती तथा जनताका स–सना कामहरुमा हुने झन्झटिला प्रावधान शिघ्र रुपमा हटाउनु पर्छ । निजी क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लिइनु पर्छ । नीतिगत रुपमा अत्यन्त सुन्दर व्यवसायिक वातावरण बनाइनु पर्छ ।
त्यसैगरी सरकारले २१ प्रतिशत जो गरिवी छ, त्यसलाई ५ बर्षमै शुन्यमा झार्ने लक्ष्य सहित काम गर्नुपर्छ । प्रगतिशिल कर मार्फत धनी र गरिवको खाडल हटाउने र नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने गरी काम गर्नुपर्छ ।
भावी अर्थमन्त्रीले आफ्नो विगतका पहुँच, अनुभवका आधारमा विदेशी लगानी भित्राउन जोड दिनुपर्छ । ५ वर्ष स्थिर सरकार र व्यवसायमैत्री वातावरण खडा गर्ने हो भने पक्कै पनि देशमा सम्बृद्धिका बहार भित्रने छ ।
त्यसका लागि अर्थमन्त्रीमा रास्वपाका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई धेरैले हेर्न चाहेका छन् । विश्व अर्थतन्त्र बुझेका उनले अर्थतन्त्रबारे ठूलठूला प्रवचन दिए अनुसार कत्तिको काम गर्न सक्छन् । नेपाली अर्थतन्त्र कत्तिको बुझेका छन् जनताले अब हेर्नेछन् ।
(रिसव गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्)
FACEBOOK COMMENTS