काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरूसँग ‘वित्तीय साक्षरता तथा वातावरण संरक्षण’कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको शंखरापुर नगरपालिका, साँखुस्थित भगवती माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
युवा र विद्यार्थीहरूमा वित्तीय सचेतना जगाउने, वातावरण संरक्षण गर्ने र ‘३ शून्य’ (शून्य खुद कार्बन उत्सर्जन, शून्य गरिबी र शून्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्देश्यले संस्थाको शाखा कार्यालय साँखुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पारेका थिए भने प्रवन्धक सुमन श्रेष्ठले स्रोत व्यक्तिको रूपमा वित्तीय साक्षरता र ‘३ शून्य’ अवधारणाबारे प्रस्तुति दिएका थिए। अभिमुखीकरणमा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उपप्रधानाध्यापक संजीव श्रेष्ठ, शिक्षकहरू, शाखा कार्यालयका कर्मचारीहरू र अभिभावकहरूको पनि सहभागिता रहेको थियो।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था नेपाल सरकारको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा इजाजत प्राप्त गरेको संस्था हो। यसले देशभर ६१ जिल्लामा रहेका १४५ शाखा/उपशाखा र ९ इलाका कार्यालयमार्फत करिब २ लाख ६३ हजारभन्दा बढी विपन्न महिला सदस्यहरूलाई समूहमा आवद्ध गरी बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैंकिङ/वित्तीय सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS