सिन्धुली । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकास्थित एकदिने वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थामा आबद्ध ग्राहक सदस्य, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई बचत तथा कर्जा व्यवस्थापनसम्बन्धी जानकारी दिँदै कर्जाको सदुपयोग, उद्यमशीलता विकास तथा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी आय आर्जनमा बृद्धि ल्याउने विषयमा जानकारी प्रदान गरिएको थियो। यसले न्यून आय भएका वर्गको आर्थिक तथा सामाजिक स्तरमा सुधार ल्याउने अपेक्षा राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कमलामाई नपा–९ का वडाध्यक्ष विनोद प्रधानले सहभागीहरूलाई धेरै वित्तीय संस्थासँग कारोवार नगरी उपलब्ध कर्जाको उचित सदुपयोग गर्न सुझाव दिए। उनले स्वावलम्बनको सेवा लिई समृद्ध र आत्मनिर्भर बन्न आह्वान गरे।
विशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपक कुमार पोखरेलले सहभागीहरूको गुनासो सम्बन्धित संस्थामा राख्न अनुरोध गर्दै कर्जा सदुपयोग गरेर उद्यमशील बन्न प्रेरित गरे ।
कार्यक्रममा सहभागी ग्राहकहरूले स्वावलम्बनले आफूहरूलाई उद्यमी बन्न सिकाएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। उनीहरूले स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्था भनेर विश्वास प्रकट गरे।
शाखा प्रबन्धक जानकी कुमारी बानियाँले संस्थाले सहज र सरल तरिकाले कर्जा प्रवाह गर्दै आएको जानकारी दिँदै उद्यम गर्न इच्छुक सदस्यहरूलाई आवश्यक सल्लाह तथा परामर्श पनि प्रदान गर्दै आएको बताए।
कार्यक्रमको अवसरमा कर्जा बीमा रकम भुक्तानी तथा एसईई परीक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोराछोरीलाई छात्रवृत्ति स्वरूप नगद र प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमले सहभागीहरूमा वित्तीय सचेतना फैलाउने र उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
FACEBOOK COMMENTS