काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षमा डा सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिष्पर्धा हुने भएको हो ।
अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा जाने भएको हो ।
डा। सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरेपछि मतदान हुने भएको बताइएको छ ।
निर्वाचन समितिका अनुसार मतदानको समय बुधबार आज १० देखि ५ बजेसम्म तय गरिएको छ । मंगलबार रातिसम्म मनोनयन दर्ता गरेर निर्वाचन प्रक्रिया शुरु भएको भएपनि अझै सहमतिको प्रयास जारी रहेको बुझिएको छ ।
अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।
महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
FACEBOOK COMMENTS