काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी असार २७ गतेदेखि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २३ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई जारी गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न स्वीकृति दिएको छ, जसको कुल मूल्य २ करोड ३१ लाख रुपैयाँ बराबर हुन्छ। यसमध्ये पहिलो चरणमा कुल सेयरको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।
यस्तै, कम्पनीका कर्मचारीहरूका लागि कुल कित्ताको ०दशमलव ५० प्रतिशत अर्थात् १ हजार १ सय ५५ कित्ता र म्युचुअल फन्डका लागि ५ प्रतिशत अर्थात् ११ हजार ५५० कित्ता सेयर छुट्याइएको छ। बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई सार्वजनिक गरिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आईपीओमा आगामी साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। आवेदन सी–आस्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट गर्न सकिनेछ।

यसअघि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ ‘बी’ प्रदान गरेको छ, जुन संस्थाले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
