काठमाडौं । रसुवाको स्याफ्रुबेँसीमा गाडी आवतजावत गर्नसक्ने गरी ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा अघि बढेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा बेलिब्रिज निर्माण कार्यलाई गति दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेका विभिन्न निर्माण गतिविधिको हिजो स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।
गएको भदौ १० गते भोटेकोशीमा गएको बाढी कारण जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको ठाउँमा नयाँ बेलिब्रिज जडानका लागि फाउन्डेसन (जग) निर्माण शुरु भइसकेको छ ।
बेलिब्रिज जडान आउँदो तिहारअघि नै सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसै घण्टा काम भइरहेको छ । यसैगरी, बाढीका कारण आवतजावतमा अवरोध पुगेको स्याफ्रुबेँसी–ब्रिद्विम जोड्ने फड्के पुल निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले फलामको लट्टे (स्टिल केबल/सामग्री) उपलब्ध गराएको छ ।

सामग्री उपलब्ध भएसँगै आवतजावत सहज बनाउन फड्के पुलको काम पनि सँगसँगै अघि बढाइएको प्रशासनले जनाएको छ ।
