काठमाडौँ । आईसीसीको नयाँ टी–२० वरियतामा, भारतीय खेलाडीहरूले ब्याटर, बलर र अलराउन्डर गरी तीनै विधामा शीर्ष स्थानमा रहेअका छन् ।
टी–२० टोली वरियता पनि शीर्ष स्थानमा छ । कुनै एकल टोली र यसका खेलाडीहरूले एउटै ढाँचामा चारै विधामा नम्बर–१ स्थान हासिल गरेको यो पहिलो पटक हो ।
वरुण चक्रवर्ती पहिलो पटक शीर्ष बलर बनेका छन् । उनी टी–२० वरियतामा नम्बर–१ वरियता हासिल गर्ने तेस्रो भारतीय खेलाडी हुन् । उनीभन्दा पहिले जसप्रीत बुमराह र रवि बिश्नोईले यो उपलब्धि हासिल गरेका छन् ।
त्यस्तै ब्याट्सम्यान अभिषेक शर्मा आफ्नो करियरको उच्चतम रेटिङका साथ नम्बर–१ मा कायम छन् । यसैबीच, हार्दिक पाण्ड्या अलराउन्डर वरियतामा शिर्ष स्थानमा रहेका छन् ।
३४ वर्षीय स्पिनरको प्रभावशाली प्रदर्शन एसिया कपमा जारी छ। उनले युएई विरुद्ध दुई ओभरमा केवल ४ रन दिएर १ विकेट र पाकिस्तानविरुद्ध चार ओभरमा २४ रन दिएर १ विकेट लिए ।
उनले वरियतामा तीन स्थान माथि उक्लिएका छन्, न्युजिल्याण्डका फास्ट बलर ज्याकब डफीलाई उछिनेका छन् ।
ब्याटिङमा अभिषेक शर्मा शीर्ष स्थानमा नै छन्। उनले सेप्टेम्बर १४ मा पाकिस्तान विरुद्धको खेलमा ३१ रन बनाएका थिए । इङ्गल्याण्डका ओपनर फिल साल्ट दोस्रो स्थानमा र जोस बटलर तेस्रो स्थानमा पुगेका
छन्। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस दुई स्थान माथि उठेर ११ औं स्थानमा र एडेन मार्कराम १० स्थान माथि उठेर ३० औं स्थानमा पुगेका छन् ।
भारतीय स्टार हार्दिक पाण्ड्या टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरियताको शीर्ष स्थानमा कायमै छन् ।
त्यस्तै नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी भने अल्राउण्डरको वरियतामा एक स्थान तल झरेर चौथो स्थानमा पुगेका छन् । त्यसैगरी टी–२० बलरको वरियतामा नेपालका ललित राजबंशीले ५ स्थानको सुधार गरेर ५८औं स्थानमा उक्लिएका छन्
FACEBOOK COMMENTS