काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारले नयाँ कानुन लागू गरेको छ । उक्त कानुनमा देशका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत जनवरी महिनामै हस्ताक्षर गरेका थिए । नयाँ कानुन अनुसार ११९ वटा व्यवस्था गरिएको छ, जसलाई लिएर संयुक्त राष्ट्रसंघ तथा मानवअधिकारसम्बन्धी संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
नयाँ कानुनअनुसार श्रीमतीलाई कुटपिट गरेमा अधिकतम १५ दिनसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । तर यस्तो सजाय तब मात्रै लागू हुने बताइएको छ, जब पीडित महिलाले अदालतमा आफू घाइते भएको प्रमाणित गर्नुपर्नेछ र शरीरमा चोटपटक वा निलडाम देखिनुपर्नेछ । त्यसैगरी, कुनै महिला श्रीमानको अनुमति बिना माइतीघर गएर बसेमा तीन महिनासम्म जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ । माइती पक्षले महिलालाई श्रीमानकहाँ फर्काउन अस्वीकार गरेमा उनीहरूलाई समेत कारबाही हुन सक्ने उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले यो कानुन अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको र महिलामाथिको विभेदलाई कानुनी मान्यता दिने खालको भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महिला सम्बन्धी निकायकी प्रतिनिधि सुसान फर्ग्युसनले पनि यस कानुनले पुरुषलाई महिलामाथि अधिकार सम्पन्न बनाउने र महिलाले न्याय पाउन झन् कठिन हुने टिप्पणी गरेकी छन् ।
यस कानुनमा जनावर जुधाउने कार्यमा भने पाँच महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ । अफगानिस्तानमा कुखुरा तथा अन्य चराचुरुङ्गी जुधाउने चलन पहिलेदेखि रहे पनि तालिबान सत्तामा आएपछि यसलाई प्रतिबन्ध गरिएको थियो । नयाँ कानुनमा जनावर जुधाएको सजाय श्रीमतीमाथि गम्भीर कुटपिटको सजायभन्दा कडा देखिएको छ ।
त्यस्तै एउटै अपराधका लागि सामाजिक हैसियतअनुसार फरक सजाय हुने व्यवस्था पनि राखिएको छ । धार्मिक विद्वान वा प्रभावशाली व्यक्तिलाई चेतावनी मात्रै दिइन सक्ने, सामान्य नागरिकलाई जेल सजाय र तल्लो वर्गका व्यक्तिलाई शारीरिक सजायसमेत हुन सक्ने उल्लेख गरिएको छ । त्यसैगरी हत्या जस्ता गम्भीर अपराधमा दोषी ठहरिए मृत्युदण्डसम्मको व्यवस्था गरिएको छ । पैगम्बर मोहम्मदको अपमानलाई पनि मृत्युदण्डयोग्य अपराध मानिएको छ, तर पश्चात्ताप गरेमा सजाय घटाएर छ वर्षसम्मको जेल हुन सक्ने व्यवस्था राखिएको छ ।

FACEBOOK COMMENTS