दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन पालना नगरेको भन्दै श्रमिकहरू कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।ठेकेदार कम्पनीमाथि दबाब सृजना गर्ने उद्देश्यले उनीहरूले आज आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म र्याली आयोजना गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा आजदेखि हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । यस्तै, श्रमिकहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूको योजना छ ।
सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS