 
			                  			              
काठमाडौं । लेखक दिलनिशानी मगरले अमेरिकामा बसोवास गर्दै आएका नेपाली मूलका चर्चित युट्युबर टङ्क दाहालको नाममा खुलापत्र लेखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै खुलापत्र लेखेका हुन् । मगरले युट्युब कन्टेन्टमा भ्युज, लाइक र कमेन्ट बटुल्ने नाममा गरिने भ्रमित कुराहरूको सम्प्रेषणले देशमा भयानक अवस्था सिर्जना हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहन दाहाललाई आग्रह गरेका छन् ।
यस्तो छ दिलनिशानी मगरको खुलापत्र–
टंक दाहालजीको नाममा
हाम्रा नेताहरू जिमेल आइडी खोल्न पनि जान्दैनन्, तपाईंले जस्तो भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी पनि जान्दैनन्। यिनीहरू प्रायः सबै भैंसी गोठालाका छोराहरू हुन्। त्यसैले अब यिनीहरू माथि दया गरेर साइबर आक्रमण बन्द गरौँ होला। साइबर बुलिङ् रोकौँ। नेपालमा सबैजनालाई ध्रुव राठी र टंक दाहाल जस्तो बन्नु परेको छ। पीएचडी होल्डर विज्ञहरूको ज्ञान काम नलाग्ने भइसकेको छ। जसरी हुन्छ, धेरै भ्युज, लाइक र कमेन्ट बटुल्न सक्ने मानिस सबैभन्दा सक्षम र महान कहलिएको छ। अब छोरीलाई ज्वाइँ खोज्दा पनि भाइरल छ कि छैन भन्ने प्रमाण पेश गर्नु पर्ने स्थिति आएको छ। त्यस कारण तपाईं जस्तो फ्याक्ट चेकमा पोख्त मानिसले इन्टरनेटमा देखा परेका यस्ता लोकप्रियतावादको खेतीलाई उम्रिन दिनु हुँदैन। नेपाली युट्युबरका कन्टेन्टहरू पक्कै पनि हेर्नुहुन्छ होला। केही दिन अघि नेपाली चलचित्रका खलनायक राजेन्द्र खड्कीले सानै उमेरमा हस्तमैथुन गरेको खुलासा गरेका थिए, जसको भ्युज सात मिलियन कटेको थियो।

अमेरिकी जहाजहरू माथि उत्तर भियतनामबाट आक्रमण गरिएको भनेर नौसेनाले पेन्टागनलाई झुटो रिपोर्ट दिएका कारण सन् १९६४ मा टोंकिन खाडी (Gulf of Tonkin Incident) काण्ड घटेको थियो। त्यही झुटो रिपोर्टका कारण अमेरिकी सैनिकहरूलाई भियतनाम युद्धमा प्रत्यक्ष सहभागी हुन प्रेरित गरेको थियो। उक्त युद्धमा तीस लाख मानिसहरूले ज्यान गुमाएका थिए। कुरुक्षेत्रको महायुद्ध सुरु हुनु भन्दा अगाडि कौरव र पाण्डवबीच भ्रमको खेती भएको थियो। दुर्योधनले द्रौपदीलाई नङ्ग्याएर अपमानित गर्ने प्रयास गरे र त्यसको आरोप पाण्डवहरू माथि थोपार्न खोजे। जेनजी आन्दोलनको क्रममा जति पनि भौतिक तथा मानवीय क्षति भयो, त्यसो हुनुको प्रमुख कारण पनि दुर्योधन जस्ता युट्युबरहरूले फैलाएको झुटो भ्रम नै थियो। डिभी कसरी भर्ने भनेर ज्ञान बाँड्ने अमेरिकी–रिटर्नी झापाली भाइदेखि लिएर खच्चडको जस्तो टाउको भएको भाग्य न्यौपानेहरूले भ्रमको बिस्कुन नै सुकाएका थिए। एनजिओ, आइएनजिओबाट आउने डलरले मात्रै देश बर्बाद हुँदैन, युट्युबरहरूको खातामा आउने डलरबाट, मोनिटाइज भएका फेसबुक र टिकटकर इन्फ्लुएन्सर हरुको खातामा आउने डलरबाट पनि देश बर्बाद हुन सक्छ।

तपाईं सफ्टवेयर इन्जिनियर डेभलपर हुनुहुन्छ, अफिसमा काम गर्दा Debugging complex code ले धेरै दुख दिन्छ होला। त्यसैगरी, नेपालका नेताहरूलाई राज्य सञ्चालन गर्न थुप्रै Geo-political complex हरुले दुख दिन्छन्। छिमेकी देश चीन र भारतलाई मिलाएर लैजानु पर्ने चुनौती छ। जसरी डिस्कोर्ड प्रधानमन्त्री शुशिला कार्कीलाई Barbara Foundation मिलाएर लैजानु पर्ने बाध्यता छ, त्यसरी नै नेताहरु लाई एकनाथ ढकाललाई सभासद बनाउनु पर्ने बाध्यता छ। हो, त्यसका अलवा नेपालमा पार्टीका झोलेहरू छन्। तर तिनीहरूलाई परिस्थितिले पार्टीको झोले बनाएको हो। नेताको पछि नलागे बिरामी पर्दा एम्बुलेन्स आउँदैन, घरमा खानेपानी र बिजुली बत्ती जडान गर्न पनि नेतालाई नै भन्नु पर्छ। छोराछोरीलाई छात्रवृत्तिको कोटा पार्न नेताहरूलाई नै विन्ती चढाउनु पर्छ। नेताको पावर नलगाएसम्म कर्मचारीले वृद्ध भत्ता समयमा नै वितरण गर्दैनन्। कोही रहरले पार्टिको झोले भएका छैनन्, देशको मेकानिजमले नै जनतालाई पार्टीको झोले बन्न बाध्य बनाएको छ। नेपाली जनताहरू आर्थिक रूपमा स्वतन्त्र छैनन्। जो मानिस आर्थिक रूपमा स्वतन्त्र हुँदैन, त्यो मानिस वैचारिक रूपमा पनि स्वतन्त्र हुन सक्दैन। जसरी लाखौँ नेपालीहरूलाई अमेरिकाको नागरिकता लिनु पर्ने बाध्यता बनेको छ, त्यो पनि आर्थिक रूपमा स्वतन्त्र नभएकै कारण हो। तर जति स्वतन्त्रताको गफ गरे पनि आजको अमेरिकामा डोनाल्ड ट्रम्पको विचार भन्दा फरक विचार राख्नेहरूको हातखुट्टामा फलामको सिक्री बाँधिएको हुन्छ। र “go back to your country” भन्दै आमा चकारी गाली गर्छन्। यसरी हेर्दा स्वतन्त्रताको मानक पनि देश अनुसार फरक–फरक हुने गर्दछ।

सबै देशमा आ–आफ्नै किसिमका समस्याहरू छन्। नेपालको समस्या कस्तो छ भन्ने कुरा मुख्य हो। नेपालको समस्या आतंकवादको होइन। नेपालको समस्या साम्प्रदायिक दंगाको होइन। नेपालको समस्या गृहयुद्धको होइन। नेपालको समस्या खाद्य संकटको होइन। नेपालको समस्या सैन्य कूको होइन। नेपालको समस्या भू–राजनीतिक तनावको होइन। नेपालको समस्या रेसिजमको पनि होइन। नेपालको समस्या भनेको जम्मा जम्मी बेरोजगारी र भ्रष्टाचारको हो, जुन समस्या आजको विश्वमा जतासुकै छन्। प्रतिस्पर्धात्मक बजारमा देखिएका extractive industries को kickbacks, Global Supply Chains भित्रका broker–agent commission जस्ता कुराहरूले नेपाली नेताहरूलाई जनताको सेवकभन्दा विदेशीको दलाल धेरै बनाएको छ। हामीलाई विदेशी उत्पादनका सामाग्री किन्न डलर चाहिएको छ, त्यसका लागि यो वा त्यो बहानामा डलर पाईने देशको दलाल बन्नु परेको छ। भारतमा नरेन्द्र मोदी बडो सादगी छन्, तर यिनले पनि निरव मोदी र विजय माल्याहरूलाई दलाली गर्न खटाएका छन्। स्पेन, इटाली जस्ता युरोपेली देशमा युवा बेरोजगारी दर तीस प्रतिशत नजिक रहेको छ। नेपालको करिब एघार प्रतिशत जति हो। दक्षिण एसियाली देशहरूमा नेपालमा मात्रै अमन चयन छ। जेनजीले जे गर्नु गरिसके।निकै मज्जाको काम गरे। तर अब हाम्रो आन्तरिक समस्याहरूको समाधान कसरी गर्ने भन्ने विषयमा आक्रमक हैन, रचनात्मक हुनु जुरुरी देखिएको छ। भ्रमित कुराहरूको संप्रेषणले भोलि देश गाजा, सिरिया, युक्रेनजस्तो अन्तर्राष्ट्रिय युद्धमा फस्यो भने हाम्रो भूमी अर्को नागासाकी र हिरोसिमा बन्न सक्छ। त्यसबेला तपाईंको युट्युब च्यानल सब्स्क्राइब गर्नेहरू कोही पनि जीवित रहने छैनन् । संभवत म पनि मरिसकेको हुनेछु।

उही तपाईको फ्यान!

FACEBOOK COMMENTS