तनहुँ । हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।
मूलको संरक्षण नहुँदा सदरमुकाम दमौली स्थित व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरमा रहेका कुवा र धाराहरू वर्षा याममा समेत सुकेर बसेको छ । धार्मिक स्थलमा रहेका कुवा र धारा समेत सुकेर पानी नआए पनि त्यसको संरक्षणमा कसैको ध्यान गएको छैन । वर्षौँ अघि बनाइएका दुई धारा र कुवामा हाल सुकेकाले उपयोग विहीन भएका छन् ।
धार्मिक तथा आध्यात्मिक कुरालाई विकास नठान्दा धारा तथा कुवाहरू मासिन थालेको दमौली स्थित व्यास गुफामा बस्दै आउनु भएका शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पुर्खाले कुवा, धारा बनाउने र धन नभएर बनाउन नसक्नेले घैटोमा पानी भरेर बटुवालाई दिने गर्ने गरेको स्मरण गर्दै दामोदर बाबाले मानिसमा धर्म कमाउन भन्दा पैसा कमाउन ध्यान गएकाले कुवा र धाराहरू हराउँदै जानु अर्को कारण रहेको बताए ।
व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरका जस्तै जिल्लाका अधिकांश स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्था परेको देखेको दामोदर बाबा बताए ।
विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानु पर्ने बाध्यता छ । पहिला जताततै सार्वजनिक धारा र कुवा हुन्थे अहिले र औँलाले गन्न सकिने मात्रै पाइने गरेको जेसिआई व्यास नगरका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । पहिला थुप्रै भए पनि दमौली बजारमा सार्वजनिक धारा एउटा पनि नभएकोले जेसिजले सार्वजनिक धारा बनाएको उनले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS