काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ ।
आज बिहान इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान ल्याण्ड गर्दा चक्कामा आगो लागेको हो ।
घटनालगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिइएको छ । सबै यात्रु सुरक्षित रहेका छन् । अहिले विमानलाई ट्याक्सीवेमा राखिएको छ ।
यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको विमानस्थल स्रोतले बतायो ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
