काठमाडौं । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा मन्त्री बन्न नपाएकी सामाजिक अभियन्ता टासी ल्हाजोम शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रि इलेक्सन’मा निर्वाचित भएकी छिन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि रास्वपाले गरेको ‘प्रि–इलेक्सन’मा उनी निर्वाचित भएकी हुन् । कर्णाली प्रदेशबाट आदिवासी जनजातितर्फकी उम्मेदवार रहेकी उनलाइ १३ हजार ७३ मत प्राप्त भएको छ ।
उक्त मत आदिवासी जनजाति कलस्टरतर्फ तेस्रो मत हो । उक्त कलस्टरमा पहिलो मत उत्तम बहादुर गुरुङ (१६,०१२) र दोस्रो मत गायिका सत्यकला राई (१४,२०१) मत पाएका छन् ।
‘प्रि–इलेक्सन’मा निर्वाचित ल्हाजोम यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने चर्चामा थिइन् । तर, नागरिकता विवाद र ‘फ्री–तिब्बत’ अभियानमा संलग्न रहेको भन्दै विवाद उत्पन्न भएपछि रोकिएकी थिइन् । नागरिकता विवाद र ‘फ्री–तिब्बत’ अभियानमा संलग्नताबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जेन जी कर्णालीले नै उनलाई मन्त्री बन्नबाट रोकेको थियो ।
जेन जीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले गत असोज २५ गते प्रेस विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको तथा जेन जी आन्दोलनमा कुनै भूमिका नरहेकोले मन्त्री बनाउन नहुने बताएकी थिइन् । उनले टासी ‘फ्री तिब्बत अभियान’मा संलग्नता रहेको आरोप लगाउँदै त्यसबारे छानबिन गर्न समेत माग गरेकी थिइन् ।

तर, मन्त्री बन्नबाट रोकिएकी उनीमाथि हालसम्म कुनै अनुसन्धान गरिएको छैन ।



FACEBOOK COMMENTS